काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा सरकारबाट बढुवा सिफारिस भएका डीआईजी विश्वराज पोखरेल विरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआइजीमा मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले पोख्रेललाई एआईजीमा सिफारिसमा गरेको थियो ।
आईजीपीका ब्याजीहरु डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै उनी विरुद्ध उजुरी परेको हो । पोखरेलविरुद्ध सरोकार राख्ने नागरिक समाजका एक अगुवाले उजुरी हालेका हुन् । उजुरी परेपछि समितिले पोखरेललाई छलफलको लागि बोलाउने तयारी गरेको छ ।
पोखरेललाई छलफलको लागि आज बोलाउने तयारी भएपनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग सम्पर्क हुन नसकेकाले भोलि बोलाउने तयारी भएको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ । गृहमन्त्री थापा आज उनका छोरा प्रतिक थापामगरको विवाहमा व्यस्त भएको बताइएको छ ।
प्रतिक्रिया