काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सत्रूतापूर्णतर्फ केन्द्रित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातदेखि अन्तिमसम्म मंगलबार शब्दवाणले बैठक प्रभावित गर्न खोजका एक सचिवालय सदस्यले बताएका छन् । उनले सचिवालय बैठकबाट नभएर बाहिरबाट निकास खोल्नुपर्ने बताएका थिए । तर, उनको यो प्रस्तावमा महासचिव विष्णु पौडेल मात्र उभिए ।
सुरुवातमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई गाली गरेर बैठक सुरु गरेका ओलीले अन्तिममा पनि मैले भनेको नमान्ने यस्ता बैठकको काम छैन भनेर बाहिरिएका थिए । ओलीले बैठकमा आफू नै सर्वेसर्वाको तरिकामा प्रस्तुत भएकाे सचिवालय सदस्यहरुले बताएका छन् ।
बैठकमा के के भयो ?
बैठकमा अन्य नेताहरु भन्दा ढिलोगरी उपस्थित भएका ओलीले सुरुवातमा भने, ‘आज महासचिव कमरेडको ६२औँ जन्मदिन परेको छ, केक काटौँ’ भनेका थिए । त्यसपछि ‘केक’ काटेर महासचिव पौडेललाई सचिवालयका सदस्यहरुले जन्मदिनको शुभकामना दिएका थिए । पौडेलको जन्मदिनको केट काट्ने कार्यक्रमपछि बैठकले औपचारिकता पाएको थियो ।
सुरुमा प्रचण्डले बैठक अब अगाडि बढ्छ भन्दै बैठक सुरु भएको संकेत गरेका थिए । त्यस लगत्तै ओलीले भने, ‘कसरी बढ्छ बैठक, एजेण्डा के हो ?’ भनेर प्रश्न गरे । त्यसको उत्तरमा प्रचण्डले भने, ‘हामीले गम्भीर खालका प्रस्तावहरु बैठकमा पेश गरिसकेका छौँ । हामी गम्भीर र जटिल मोडमा छौँ । तिनै एजेण्डामा छलफल गर्ने र निष्कर्षमा पुग्ने नै एजेण्डा हुन् ।’
प्रचण्डलाई बोल्न रोक्दै ओलीले फेरि आफ्नो कुरा राखे । उनले भने, ‘तपाईँले पेश गरेको प्रस्ताव नै होइन, लाल्छाना पत्र हो । त्यसले बैठकमा छलफल गर्ने हैसियत राख्दैन । यसको समाधान भनेको यो प्रस्ताव फिर्ता लिनुपर्छ । फिर्ता लिएर मात्रै हुँदैन माफी पनि माग्नुपर्छ । यो प्रस्ताव बैठकमा छलफल हुनै सक्दैन ।’
ओलीले महाधिवेशन अगाडि सहमतिमै जानुपर्छ भन्दै आफूले भनेको कुरा मान्नुपर्ने तर्क गरे । उनले भने, ‘अर्को कुरा बुकलेट किन वितरण गरेको ? त्यसमा पनि माफी माग्नुपर्छ । विवादहरु सहमतिमै समाधान गर्नुपर्छ, बैठकबाट होइन । महाधिवेशन अगाडि बहुमतको निर्णय मानिन्न, त्यसको काम छैन ।’
ओलीले आफ्नो प्रतिवेदनको ब्याख्या गर्दै सरकारले राम्रो काम गरेको प्रसंग पनि उठाए । उनले भने, ‘म नेतृत्वको सरकारले इतिहासमै राम्रो काम गरेको छ । मैले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।’
ओलीको कुरा सुनेपछि सचिवालय सदस्यसँगै प्रचण्ड पनि मुस्कुराएर हाँसेका थिए । त्यो दृश्य देखेपछि ओलीले प्रचण्डतर्फ हेरेर फेरि थपे, ‘मैले गम्भीर कुरा गर्दा तपाईँ हाँस्ने ? मुस्कुराउने ?’
आफ्नो अधिकांश समय सरकारको बयान गर्ने र प्रचण्डमाथि शब्दबाण हानेपछि फेरि प्रचण्डले जवाफ दिए । उनले भने, ‘केपी कमरेडले उत्तेजित कुरा गर्नुभयो, ‘हामीलाई पनि उत्तेजित पार्ने प्रयास गर्नु भएको छ । तर, हामी पार्टी एकताका लागि उत्तेजित हुँदैनौँ । अहिले आएका सबै तथ्यलाई सार्थक ढंगले अगाडि बढाएर लैजानुपर्छ । छलफल गरेर अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।’
प्रचण्ड बोल्दै गर्दा फेरि ओलीले ठूलो स्वरमा आक्रोस पोखे । उनले चिच्याएको स्वरमा भने, ‘जे मन लाग्यो त्यहीँ लेख्न पाइन्छ ?’ ओलीले प्रचण्डलाई बोल्न रोकेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरे । उनले भने, ‘यो के गरेको ? तपाईँको कुरा सुनिदिनुपर्ने, हामीले अहिलेसम्म सुनिरहेका थियौँ, तपाईँले अर्का अध्यक्षलाई रोक्ने ? तपाईँमा विधि, पद्दती भन्ने कुनै कुरा हुँदैन ?’
श्रेष्ठले बोल्दासाथ वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले बोल्न पनि प्रतिबन्ध लगाउने भनेर ओलीको प्रतिवाद गरे । त्यसपछि प्रचण्डले भने, ‘बोल्नै रोक्ने, छलफल गर्न नै रोक्ने तपाईँ को हो ? तपाईँलाई कस्ले दियो अधिकार ? ल साथीहरु भन्नुस् यी प्रस्ताव के गर्ने ?’
त्यस लगत्तै वरिष्ठ नेता नेपालले छलफल गर्नुको विकल्प नभएको बताए । अर्का वरिष्ठ नेता खनालले पार्टीको सम्पत्ती भइसकेका विषयमा छलफलबाट नै निकास खोज्नुपर्नेमा जोड दिए । उपाध्यक्ष गौतमले केपी ओलीले नै छलफलमा भाग लिइसकेकाले अब छलफल गर्नुको विकल्प नभएको बताए । प्रवक्ता श्रेष्ठले पार्टीमा आएका विषयबस्तु छलफल नै गर्न नपाउने भन्ने नहुँने धारणा राखे । सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा आइसकेका विषयहरु छलफल गर्नुपर्ने बताए । अर्का सदस्य रामबहादुर थापा बादलले पनि छलफल गरेर जानुपर्नेमा जोड दिए । तर, महासचिव पौडेलले भने, ‘मैले छलफल गर्ने वा नगर्ने भन्न सक्दिनँ’
प्रचण्डले त्यसपछि फेरि आफ्नो धारणा राख्न सुरु गरेका थिए । उनले भने, ‘केपी कमरेडले नै बैठक बोलाउन आग्रह गर्दा प्रतिउत्तर लेखेर फायर खोल्नु भएको हो । त्यसपछि मैले लिखित प्रस्ताव लेख्नुपर्ने अवस्था आयो । तपाईँले स्थायी कमिटीको निर्णय नमानेर फुटवादी गतिविधि गरेको होइन ? बालुवाटारबाट देशैभर फुटवादी गतिविधि तपाईँले गरेको होइन । यी प्रस्ताव मित्रतापूर्ण तरिकाले हल हुनसक्छन् । मैले तपाईँको प्रस्तावको लिखितैरुपमा पूरक प्रस्ताव ल्याउँछु ।’
प्रचण्डपछि बोलेका वरिष्ठ नेता खनालले सहमति, सहमतिले नै पार्टीलाई बिगारेको बताए । उनले भने, ‘सहमति,सहमति भनेकाले पार्टी बिर्गेको हो । सहमति गर्दा पनि पद्दती र प्रक्रियामा गएर गर्नुपर्छ । मनलाग्दाी गर्ने नीतिले नै संकट निम्तिएको हो । सकेसम्म सहमति गर्नु राम्रो कुरा हो । तर, सहमति भएन भने विधि र पद्दतीमा गएर निर्णयमा पुग्नुपर्छ ।’
उपाध्यक्ष गौतमले पनि छलफलबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अनौपचारिक पनि छलफल गरौँ, तर, औपचारिक छलफललाई पनि निरन्रता दिनुपर्छ । एउटा निष्कर्षमा पुग्नु अब ढिला भइसक्यो ।’
सचिवालय सदस्य पोखरेलले अनौपचारिक संवादलाई जोड दिए । उनले भने, ‘छलफलबाट निकास खोजौँ, अनौपचारिक संवादबाट निकास निकाल्ने प्रयास गरौँ ।’
प्रवक्ता श्रेष्ठले अनौपचारिक संवादका नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्न नहुने बताए । उनले भने, ‘अनौपचारिक संवादको नाममा पार्टीलाई अनिर्णयको अवस्थामा राख्नु हुँदैन । अनौपचारिक संवाद पनि गरौँ तर, औपचारिक बैठक रोक्न मिल्दैन ।’
हिजाेकाे बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य थापाले आफ्नो छुट्टै धारणा राखेनन् । वरिष्ठ नेता नेपालले भने सबैको जिम्मेवारी ओलीले लिनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीभित्रकै कमरेडलाई दुश्मन भनेको कस्ले हो ? पार्टी फुटाउने को हो ? पार्टी एकता भंग गर्ने कस्ले हो ? यी सबैको जरो कमरेड केपी हो । गुटवादी, फुटवादी सबै केपी हो । उहाँ सच्चिनुपर्छ, सहमति भए राम्रो हो । तर, सहमति नभएमा अन्तरिम विधानले जे भन्छ त्यसलाई मानेर जानुपर्छ । पार्टी कसैको पेवा होइन ।’
अन्तिममा प्रचण्डले बुधबार दिउँसो १ बजे फेरि सचिवालय बैठक बस्ने बताए । बुधबार बैठक बस्ने निर्णयप्रति ओलीले व्यंग्य हानेका स्रोतको भनाइ छ । अन्तिममा सबैजना उठ्ने बेलामा ओलीले भने, ‘मैले भनेको नमान्ने, यस्ता बैठकको काम छैन ।’ आजको बैठकको सुरुवातदेखि अन्तिमसम्म ओलीले बैठक भाड्ने व्यवहार देखाएको सचिवालय सदस्यहरुले बताएका छन् ।
प्रतिक्रिया