मोदीलाई ओलीको सन्देश : ‘सीमा विवादमा उच्चस्तरीय वार्ता, भारतीय पहल आवश्यक’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७७, शनिबार ०६:१७

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्ध्दन श्रृंगलाको नेपाल भ्रमणमार्फत नेपाल र भारत सम्बन्धमा लामो समयदेखि रहेको शून्यता अन्त्य भएको छ । यससँगै नेपाल भारतबीच चलिरहेको सीमालगायतको विवादमा पनि ‘आइसब्रेक’ भएको विश्लेषण भइरहेको छ ।

आफ्नो दुई दिने औपाचारिक नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुगेका श्रृंगलाले हिजै औपचारिक वार्तासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका छन् ।

यसबीचमा भएको दुबै देशको विदेश सचिवस्तरीय औपचारिक वार्तामा नेपालको तर्फबाट सीमा विवादलगायतमा भारतीय पक्षको ध्यानाकर्षण गराइएको थियो । उक्त वार्तामा श्रृंगलाले भारत नेपालसँग मिलेर अघि बढ्न तयार रहेको भन्दै भौतिक तथा आर्थिक विकासमा सहायता र सहकार्य गर्न भारत अग्रसर रहेको बताएका थिए ।

श्रृंगलाले प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । मोदीले नेपाल भारतबीच उच्चस्तरीय भ्रमण र वार्तामार्फत दुई देशबीच रहेको समस्याको समाधान गर्नुपर्ने सन्देश पठाएका उनले जानकारी गराएका छन् ।

जवाफमा ओलीले नेपालले उच्च स्तरको वार्तामार्फत सीमा विवाद सुल्झाउन चाहेको सन्देश पठाएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि नेपाल तयार रहेको भन्दै ओलीले समस्या समाधानमा पहल गर्नुपर्ने बताएका छन् ।

श्रृंगलाको नेपाल भ्रमणले नेपाल भारतबीच रहेका सीमा विवादसहितका समस्यामा समाधानको पहल हुने परराष्ट्र मन्त्रालयले अपेक्षा गरेको छ । भेटमा परराष्ट्रमन्त्री ज्ञवालीलाई श्रृंगलाले डिसेम्बरमा विदेशमन्त्रीस्तरीय वार्ताका लागि भारत भ्रमणको निम्तो दिएका छन् ।

दुबै देशको विदेशमन्त्रीस्तरीय वार्तामा दुबै देशकोबीचमा रहेको समस्याहरुमा विस्तृत छलफल हुने र समाधानको पहल हुने बताइएको छ । वार्ताका लागि मन्त्री ज्ञवाली डिसेम्बर दोस्रो साता भारत जानेछन् । जसबाट समस्या वार्ताको टेबलमा पुग्नेछ ।

मन्त्री ज्ञवालीले श्रृंगलामार्फत नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदन र अद्यावधिक नक्सा र सीमामा रहेको समग्र विवादमा वार्ता गर्ने र समाधानको पहल गर्नुपर्ने सन्देश पठाएका छन् । यससँगै समस्या समाधानमा ठोस पहल एक कदम अगाडि बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१