कोरोना संक्रमणबाट एकहप्तामा यी तीन वरिष्ठ डाक्टरको मृत्यु : चिकित्सा क्षेत्रमा ठूलो क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०७७, मंगलवार ०५:५७

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक हप्तामा ३ जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । यसले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंसिर १ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल शल्य चिकित्सक डा.नारायणबहादुर थापाको मृत्यु भएको थियो ।

त्यस्तै दुई दिनअघि कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी तीनैजना वरिष्ठ चिकित्सकको मृत्युको मुख्य कारण कोरोना भाइरसको संक्रमण हो । तीनैजना डाक्टरले नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने डाक्टरमा चारैजना वरिष्ठ चिकित्सक छन् । यसअघि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत डा. हरि सापकोटाको मृत्यु भएको थियो । बाँकेको खजुरा स्थायी घर भएका उनको कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा असोज १५ गते निधन भएको थियो ।

तीनैजना डाक्टरको चिकित्सा क्षेत्रमा फरक पहिचान

वरिष्ठ डा.ध्रुव शर्मा मुडभरी झण्डै ८० वर्षका थिए । शाही शल्यचिकित्सक रहेका उनले नेपालको अस्पताल व्यवस्थापनको क्षेत्रमा आफूलाई सफल सावित पनि गरेका थिए । ओम अस्पतालका संस्थापकसमेत रहेका मुडभरी दरबारका शाही सर्जन थिए ।

वीर अस्पतालको नेतृत्वदायी भूमिकामा रहेका उनी नेपालको शल्यचिकित्सा क्षेत्रमा ठूलो योगदान गरेका चिकित्सक थिए । उनले भारतबाट एमबिबिएस, एमएस गरेका थिए । शनिबार उपचारका क्रममा शर्माको ओम अस्पतालमा मृत्यु भएको थियो ।

बाल शल्य चिकित्सा क्षेत्रका अर्का वरिष्ठ चिकित्सक डा.नारायणबहादुर थापाको पनि कोरोना संक्रमणबाट मृत्यु भयो । डा.थापा नेपालमा बाल शल्य चिकित्सा सेवा सुरु गर्नेमध्येका एक हुन् । बेलायतमा अध्ययन गरेर पेडियाट्रिक सर्जरीको क्षेत्रमा १० वर्ष काम गरेर नेपाल फर्किएपछि उनले वीर अस्पतालमा बाल शल्य चिकित्सा सेवा सुरु गरेका थिए ।

कान्ति बाल अस्पतालमा पेडियाट्रिक विभाग स्थापनाका लागि पनि उनको ठूलो योगदान रहेको थियो । कोरोना संक्रमणबाट झण्डै ८० वर्षको उमेरमा उनको नेपाल मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भएको थियो । भारतबाट एमबिबिएस गरेका उनी बेलायतमा पेडियाट्रिक सर्जरी अध्ययन गरेर नेपाल फर्किएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत वरिष्ठ प्रा.डा.सुनील झाको पनि कोरोना संक्रमणबाट निधन भयो । उनी अब्बल मुटुरोग विशेषज्ञ र असल प्राध्यपक हुन् । उनले अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स)बाट एमडी गरेका थिए।

३० वर्षसम्म त्रिवि शिक्षण अस्पतालमा काम गरेका उनले नेपालमा मुटुरोगको डिएम कार्डियोलोजी प्रोग्राम सुरुवात महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्डियोलोजिस्ट सोसाइटी अफ नेपालको अध्यक्ष भइसकेका उनको ६१ वर्षको उमेरमा कोरोना संक्रमणबाट मंसिर १ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१