काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसिक स्वभावका छन् । कहिले उखान टुक्काले नेता–कार्यकर्ता र समर्थकहरुलाई मनोरञ्जन दिन्छन् त कहिले आफ्ना भिन्न व्यवहारले अन्य नेता भन्दा फरक देखिन खोज्छन् ।
ताप्लेजुङको घुन्सामा स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका उनले आज उनीसँगै केन्द्रबाट गएका र स्थानीय नेता तथा कार्यकर्ताको फोटो खिचिदिए । उनका प्रेस सल्लाहकार सूर्य थापाले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ता र समर्थकहरूलाई विभिन्न ढंगले उत्साहित पार्ने गर्नुहुन्छ, ’ भन्दै सामाजिक सञ्जालमा उक्त तस्विर सार्वजनिक गरे । फोटोमा प्रम ओली उत्साहित ‘मुड’ मा लाइनमा लागेकाहरुको फोटो लिन तल्लिन देखिन्छन्।
प्रम ओलीसँग फोटो खिच्न तछाडमछाड भएको र हेलिप्याडमा प्रम ओलीको बिदाईमा जम्मा भएका नेता कार्यकर्ताको फोटो आफैंले खिचिदिएको सल्लाहकार थापाले बताएका छन् ।
पार्टी भित्र गम्भीर राजनीतिक बहस भइरहेको बेला ओली स्वास्थ्य चौकी उद्घाटन गर्न गाउँ पुगेका छन् । १० दिनमा कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ तयार पार्न समय मागेका प्रम ओली गाउँको स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका हुन् ।
मंसिर १३ गते बस्ने नेकपाको सचिवालय बैठकमा उनले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । उक्त प्रस्तावमा उनले प्रचण्डका एक एक प्रश्नहरुको जवाफ दिने उनी निकट नेताहरुले दिँदै आएका छन् ।
ओली नेतृत्वको नेकपाको सरकारको चौतर्फी आलोचना भइरहँदा पार्टी भित्रै बहुसंख्यक सचिवालय सदस्यहरुले यसअघि नै उनको राजीनामा पनि मागिसकेका छन् ।
प्रतिक्रिया