जिल्ला अध्यक्षलाई सांसद पछिको वरियता दिलाउन मेरो उम्मेद्वारीः अरुणराज सुमार्गी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७७, बिहीबार ०५:२७

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका अरुणराज सुमार्गीले जिल्ला नगरका उद्योग वाणिज्य संघको पृष्ठभूमीलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् । जिल्ला नगर बुझेको, जिल्ला नगरका समस्या समाधानमा निरन्तर लागेको र देशै भरका जिल्ला नगरका उद्योगी व्यवसायीसँग बाक्लो घुलमिल भएका कारण आफूले निर्वाचन जित्ने उनको दाबी छ ।

‘जिल्ला नगरको प्रतिनिधित्व गर्ने म त्यस्तो मान्छे हुँ, जसले ७७ वटै जिल्ला, जिल्ला भित्रका सबैजसो नगरका अध्यक्षहरुसँग बारम्बार कुरा गर्ने गरेको छुँ’ सुमार्गी भने ।

महासंघ यात्रा

अरुणराज सुमार्गी २०६६ देखि २०६८ सम्म मकवानपूर उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए । त्यसपछि २०६८ देखि उद्योग वाणिज्य महासंघको मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष भए । २०७४ सालमा उनी बागमती प्रदेश (तत्कालिन ३ नम्बर प्रदेश) को तदर्थ समितिको संयोजक भएर चुनाव गराए ।

त्यसपछि महासंघकी अध्यक्ष भवानी राणाले सुमार्गीलाई मनोनित गरेर महासंघको केन्द्रीय सदस्यमा ल्याएकी हुन् । सन् २०११ मा सुरज वैद्य अध्यक्ष हुदादेखि महासंघको केन्द्रमा प्रवेश गरेका उनीसँग हालसम्म ४ अध्यक्ष र ३ कार्यकाल काम गरेको अनुभव छ । महासंघले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउँदा स्मारिका तयार पार्ने र जिल्ला नगरको सूचना संकलन गर्ने समितिमा संयोजक भएर उनले काम गरेका थिए ।

आफू जिल्ला नगर पृष्ठभूमीबाट आएको हुनाले उनले विभिन्न जिल्लामा देखिएका विवादहरु सहजै मिलाएका उदाहरण पनि छन् । विवादका कारण हुन नसकेको कालिकोट उद्योग वाणिज्य संघको साधारण सभा गराउन सफल सुमार्गीले अछाम उद्योग वाणिज्य संघमा चर्किएको विवाद पनि सहजै समाधान गराएका थिए ।

योजना के छन् ?

अरुणराज सुमार्गी यसपटको निर्वाचनमा जिल्ला नगरको उपाध्यक्षकै दाबेदार मानिएका थिए । तर, कोरोना भाइरसको संकटको समय भएका कारण आफ्नो दाबी मात्रै प्रमुख नरहेको र महासंघमा अनुभवी नेतृत्वको आवश्यकता रहेको भन्दै उनी दाबेदारीबाट पछि हटे । सुमार्गी अहिले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समूहको निर्वाचन प्रचार प्रसार संयोजक छन् ।

उनलाई बिजपाटी डटकमले तपाईको उम्मेद्वारी किन भनेर गरेको प्रश्नमा सुमार्गीले सचिवालय सुदृढिकरण र संगठन शुद्धिकरणका लागि आफूले उम्मेद्वारी दिएको उत्तर दिएका छन् ।

‘महासंघमा जिल्ला नगरलाई सबल र सक्षम बनाउन मेरो उम्मेद्वारी हो’ सुमार्गीले भने, ‘योसँगै व्यवसायी, उद्योगीको मनोबल उच्च बनाउन, महासंघको सचिवालय सुदृढ बनाउन र संगठनको शुद्धिकरणका लागि मेरो उम्मेद्वारी हो ।’

उनले २० वर्ष स्थानीय सरकार नहुँदा उद्योग वाणिज्य संघले प्रतिनिधिका रुपमा स्थानीय तह सञ्चालन गरेको दाबी गर्दै संविधानले उद्योगी व्यवसायीको प्रोटोकल (वरियता) स्पष्ट नगरेको प्रति दुखेसो गरेका छन् । उनले उद्योग वाणिज्य संघ जिल्लाको अध्यक्षको वरियता निर्वाचित सांसदभन्दा मुनि र नगर उद्योग वाणिज्य संघको अध्यक्षको वरियता मेयर भन्दा मुनि (उपमेयर सरह) स्थापित गराउने पहिलो लडाई आफूहरुले लड्ने बताए ।

‘हाम्रो वरियता स्पष्ट छैन, जिल्ला अध्यक्षको प्रोटोकल सांसदभन्दा मुनि र नगरको अध्यक्षको प्रोटोकल मेयरभन्दा मुनि हुनुपर्छ’ उनले भने, ‘यो हाम्रो समूहको समूहिक बाचा हो, हामी यो वरियता स्थापित गराएरै छोड्छौँ ।’

उनले एक व्यक्तिलाई बोकेर निर्वाचन जिताईदिन्छु भनेर ठेक्का लिने भरिया प्रवृतिविरुद्द पनि आफ्नो लडाई कायम रहने र परास्त गरेरै छोड्ने दाबी गरेका छन् । उनले नीजि क्षेत्रको विकास अनुसन्धान केन्द्र स्थापना गर्ने जस्ता महत्वपूर्ण योजनाहरु रहेकाले यी योजना पूरा गर्न आफू र आफ्नो टिम महासंघमा पुग्नैपर्ने बताएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हाल जिल्ला नगर उपाध्यक्ष रहेका किशोर प्रधानको समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति उम्मेद्वार छन् । जिल्ला नगरको सदस्यमा सुमार्गीसहित मोहन साह, जगत खड्का, यज्ञ प्रसाद भट्टराई, कमान बहादुर खड्का, महेन्द्र श्रेष्ठ, अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया र देव कुमार श्रेष्ठ उम्मेद्वार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१