ओली अनुपस्थित भए पनि नेकपाको सचिवालय बैठक बिहीबार बस्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७७, बुधबार ०५:४०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा झण्डै एक घन्टा भेटवार्ता भए पनि सचिवालय बैठक राख्न ओली सहमत भएका छैनन् ।

भेटवार्ताको क्रममा  ओलीले बैठक राख्न अस्वीकार गरेका र सकभर टार्ने कुरा गरेको प्रचण्डले सचिवालयको अनौपचारिक बैठकमा ब्रिफिङ गरेका छन् । एक सचिवालय सदस्यका अनुसार बैठकमा प्रचण्डले भने, ‘उहाँ(ओली)ले बैठक राखौँ न त पर्सी भनेको मान्नु भएको छैन । किन अहिले नै बस्नु पर्ने भन्दै उहाँले प्रश्नु गर्नुभयो । अन्तिममा उहाँले सल्लाह गर्छु भन्नु भएको छ ।’

प्रचण्डले पर्सी सचिवालय बैठक जसरी पनि बस्ने भन्दै ओलीलाई औपचारिक बैठकमा उपस्थित हुन आग्रह गरेर पार्टी कार्यालय फर्किएका छन् । बैठकमा प्रचण्डले भने, ‘उहाँले आलटाल गरेपछि मैले तपाईँ पर्सी बिहीबारको बैठकमा आउनुस्, अब सबै विषयमा त्यहीँ छलफल गरौँ भनेर हिँडेको छु । अब लामो समयसम्म पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।’

अनौपचारिक बैठकले सहमतिमै बैठक राख्नु राम्रो हुने भएको र भोलि प्रधानमन्त्री ओलीको काठमाडौं बाहिर कार्यक्रम भएकाले बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने निर्णय गरेको छ । एक सचिवालय सदस्यले भने, ‘अब हामी बैठक बसेर अगाडि बढ्नुपर्छ । यसरी अनिर्णयको बन्दी बनाउनु हुँदैन । कम्युनिष्ट पार्टीले आफ्ना कार्यभार पूरा गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

यसअघि आजै बालुवाटारमा आफू निकटसँग ओलीले पनि बिहीबार बैठक राख्ने विषयमा छलफल गरेका थिए । आफू निकट नेताहरुको दबाबका कारण ओली बैठक राख्न सहमत भएका स्रोतको दावी छ । बिहीबार बैठक राख्नका लागि महासचिवलाई जिम्मेवारी दिइएको बालुवाटार स्रोतले नागरिकखबरलाई दिएको छ ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । ओलीको पक्षमा ईश्वर पोखरेल छन् । महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले दुबैतर्फ आफूहरु रहेको बताउँदै आएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भने खनाल, नेपाल, गौतम र श्रेष्ठको साथ छ ।

ओलीले लिखित आग्रह गर्दा पनि बैठक नबोलाएपछि आज बेलुकीसम्म भोलि वा पर्सीसम्म बैठकका लागि प्रचण्डले सूचना जारी गर्नेछन् । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने र अगाडि बढ्ने तयारी गरेको स्रोतको भनाइ छ ।

प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई बैठक बोलाउने सन्देश पठाइसकेका छन् । आफूसँग बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि ओलीलाई लिखित आग्रह गरिएको र त्यो आग्रहलाई बेवास्ता गरिएकाले अब आफैले बैठक बोलाउने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

पार्टीका नेताहरुलाई जानकारी नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१