ज्यान मुद्दाका दोषी १६ वर्षपछि पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७७, मंगलवार ०५:२५

काठमाडाैं । कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगरका ३३ वर्षीय हरि भन्ने रामकुमार गिरी रहेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ । विसं २०६१ मा काठमाडौँको सामाखुसीमा कानमा लगाएको मुन्द्रा माग्दा नदिएको झोकमा चितवनका जीवन लोहनीले स्थानीय प्रकाश लामालाई कुटपिट गरेको र सोही घटनाको बदलास्वरुप गिरीले लोहनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

विसं २०६४ मा जिल्ला अदालत काठमाडौंले उक्त घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएपनि फरार हुँदै आएका थिए । उक्त घटनापछि गिरी केही समय विदेश गएका थिए । फर्किएपछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएकामा महाशाखाको टोलीले उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरी काठमाडौं ल्याएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं बुझाइएको जनाइएको छ ।

बैकिङ कसुरमा पक्राउ

बैंँकिङ कसुर मुद्दामा आज प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय सूर्यप्रसाद शाह रहेका छन् ।

काठमाडौं विश्व विद्यालयअन्तरगत मेडिकल शिक्षामा अध्ययन गर्ने क्रममा उनले पहिलो किस्ताबापत तिर्नुपर्ने रु १३ लाख ४१ हजार बराबरको चेक दिएका थिए, तर चेक नसाटिएपछि विश्व विद्यालयले काभ्रेपलाञ्चोक जिल्लामा बैँकिङ कसुरमा उजुरी दिएको व्यूरोले जनाएको छ ।

त्यसपछि उनी फरार हुँदै आएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको र आजै थप कारवाहीका लागि काभ्रेपलाञ्चोक पठाइएको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१