काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किएका बेलामा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । भेटमा ओलीले नेपालसँग पार्टीको संकट समाधानका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन् ।
ओलीले वरिष्ठ नेता नेपालसँगै स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि बालुवाटार बोलाएका थिए । दुई घन्टाभन्दा धेरै समय भएको भेटवार्ताका क्रममा ओलीले पार्टीमा देखिएको संकट समाधानका लागि सहयोग गर्न र प्रभावकारी भूमिको अपेक्षा गरेर बोलाएको बताएका सहभागी एक नेताले जानकारी दिए ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अोलीले पूर्वएमाले मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, वरिष्ठ नेता नेपालले वर्तमान संकट समाधानको प्रस्ताव के हो ? भनेर प्रश्न गरेका ती नेताको भनाइ छ । उनले भने, ‘पूर्वएमाले मिलेर जानुपर्छ भन्ने उहाँको कुरा थियो । तर, वरिष्ठ नेताले पार्टी एकता भएको अवस्थामा पूर्व समूह भनेर अगाडि बढ्न नसकिने प्रष्ट पार्नु भएको छ ।’
अर्का अध्यक्ष प्रचण्डलाई गाली गलौजको शैलीमा आलोचना गर्दै ओलीले आफूले अझै लामो समयसम्म पार्टीको नेतृत्व लिनसक्ने संकेत गरे । उनले भने ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ । अब मिलेरै देश चलाउनुपर्छ ।’
वरिष्ठ नेता नेपाललाई पार्टीको नेतृत्व लिन आग्रह गर्दै ओलीले प्रचण्डले भनेको कुरा नमान्न आग्रह गरे । उनले भने, ‘सिंगो देशको नेतृत्व लिने तपाईँले हो अब । खुमलटारले के भन्छ भन्ने कुरामा ध्यान नदिनुस्, तपाईँ के गर्नुहुन्छ त्यो कुरा भन्नुस् ।’
भेटवार्ताका क्रममा समग्र पार्टीभित्रको विवादमा छलफल भए पनि कुनै पनि विषयमा सहमति भने नभएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । नेकपामा विवाद बढ्दै गएपछि ओलीले आफू निकट नेता कार्यकर्ताको भेला निरन्तर गरिरहेका छन् । उनले सकभर पूर्वएमाले एक ठाउँमा हुनुपर्ने भन्दै अभियान नै सञ्चालन गरेका छन् ।
प्रतिक्रिया