प्रधानमन्त्रीले प्रचण्डलाई भने- गुटबन्दी बन्द गर्नुस्, प्रचण्डले भने- बैठक बोलाउनुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७७, शुक्रबार ०५:०६

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुटबन्दी रोकेर पार्टी एकताको पक्षमा उभिन सुझाव दिएका छन्। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णय अनुसार अघि बढ्न समेत भनेका थिए।

‘स्थायी कमिटीको निर्णय अनुसार अगाडि बढ्ने, पार्टी एकता रक्षा गर्ने, पार्टी सञ्चालन गर्ने, महाधिवेशन गर्ने र समझदारी अनुसार अगाडि बढ्ने हो कि दिनकै विभिन्न ठाउँमा गुटका बैठक बस्ने हो? सचिवालयका चार जनालाई कहिले कहाँ बोलाउने, कहिले कहाँ जाने, यसो गरेरै अगाडि बढ्ने हो,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘गुटबन्दी रोकेर मात्रै एकताको कुरा गर्नुस्। गुटबन्दीपूर्ण बैठक गरेर के गरेको हो?’

प्रधानमन्त्री ओलीले आफूहरूको सम्बन्ध पार्टी एकताको सम्बन्ध भएको भन्दै पार्टी एकता जोगाउन तत्काल गुटबन्दी बन्द गर्न प्रचण्डलाई भनेको ती नेताले सेतोपाटीलाई बताए।

आइतबार प्रचण्ड निवास खुमलटारमा उनीसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा भेला भएका थिए। भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अलग गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए।

त्यस्तै ६ नेताको बैठकले सचिवालय बैठक बोलाउनपर्ने र पार्टी एकताका लागि हदैसम्मका प्रयास गर्ने निष्कर्ष निकालेको थियो। बिहीबार प्रचण्ड र नेपालले आफू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले दुई जना मात्रै बसेर नहुने भन्दै अब पार्टीको बैठक बोलाउन भनेको प्रचण्ड निकट एक नेताले सेतोपाटीलाई बताए। जवाफमा प्रधानमन्त्रीले बैठक नबोलाउने बताएका थिए।

‘एक्लाएक्लै या दुई जना बसेर हुँदैन। अब बैठक बोलाउनपर्छ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंले ठीक गर्नुभएको छैन। नयाँ पार्टीको अभ्यास थाल्नुभएको छ। प्रदेशमा बहस चलाउन थाल्नुभएको छ।’

प्रधानमन्त्री ओलीले बुधबार प्रदेश १ का आफू निकट नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए। छलफलमा ओलीले पार्टीभित्र गुटबन्दी बढेको र त्यसको नेतृत्व प्रचण्ड र नेपालले गरेको आरोप लगाएका थिए।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा समेत प्रधानमन्त्रीले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र अस्थिरता मच्चाउने षडयन्त्र भएको भन्दै त्यसलाई परास्त गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१