काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको संवादहीनता शनिबार तोडिए पनि पार्टी भित्रको संकट थप गहिरो भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आज बिहान बालुवाटारमा आफू निकट नेतासँग पार्टी विभाजन गरेर जाने विषयमा छलफल गरेका थिए । उनले संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतक देव गुरुङलाई बर्खास्त गर्ने तयारी गरेका थिए । तर, महासचिव विष्णु पौडेलको आग्रहमा रोकिएको स्रोतको भनाइ छ ।
ओलीको छलफलका बारेमा जानकारी पाएका प्रचण्डले दिउँसो आफ्नो निवास खुमलटारमा सचिवालयका ६ जनालाई बोलाएर पार्टीमा विकास भएको पछिल्लो घटनाक्रमका विषयमा छलफल गरेका छन् ।
खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले हिजो अोलीसँग भएको भेटवार्ता र बिहान फोनमा भएको कुराकानीबाट सुरु गरेका थिए ।
हिजोको बैठक र बिहानको फोन संवादमा के भयो ?
प्रचण्डले हिजो भएको भेटवार्ताका क्रममा ओलीले पार्टी अलग अलग गरेर जान आफूलाई प्रस्ताव गरेको सुनाए ।
प्रचण्डले भने, ‘कोरोना भाइरसको महामारीमा पनि जनताको उपचार नगर्ने खालको काम राम्रो भएको छैन, यो विषयमा पनि छलफल गरौँ । रअको भ्रमण पनि राम्रो भएन, त्यस विषयमा पनि छलफल गरौँ । स्थायी कमिटी बैठकका निर्णय र कर्णाली प्रकरणमा पनि छलफल गरौँ भने ।’
ओलीले भने, ‘बैठक किन बस्ने ? बस्दैन बैठक । बसिँदैन बैठक ।’
प्रचण्डले भने, ‘बैठकबाट निकास खोजौँ धेरै विषयहरु आइसकेका छन् ।’
ओलीले भने, ‘बैठक बसेर निर्णय गरौँला भन्ने सोच्नु भएको होला । मैले कुनै पनि बैठकका निर्णय मान्दिन । मैले किन मान्ने ?’
प्रचण्डले भने, ‘बैठकका निर्णय मानेर जानुपर्छ । पार्टी एकतालाई बचाएर जानुपर्छ । प्रवक्ताले पनि बैठकको माग गरेर पत्र नै लेख्नु भएको छ ।’
ओलीले भने, ‘मैले बैठक राख्दिन । बैठक आवश्यक छैन । तपाईँहरु छुट्टै बैठक राखेमा मैले एक मिनेटमै ठूलो एक्सन लिन्छु । अब फुटौँ, त्यो पनि सल्लाहमै फाटौँ ।’
प्रचण्डले भने, ‘फुट्न पाउनु हुँदैन । तपाईँले विधि र प्रक्रिया अनुसार हिड्न सिक्नुपर्छ । पार्टीलाई बलियो बनाएर जानुपर्छ ।’
ओलीले भने, ‘अब कुरै छैन । आआफ्नो बाटो गरौँ । बैठक राखेर आआफ्नो गर्ने भए मैले महासचिवसँग सल्लाह गर्छु ।’
आज बिहान पनि ओलीले फोन गरेर पार्टी विभाजन गर्ने प्रस्ताव गरेका जानकारी खुमलटार बैठकमा प्रचण्डले दिए । उनले भने, ‘ओलीजीले आज बिहान पनि पार्टी फुटाउँछु भन्नु भयो । मैले उहाँलाई आवेशमा नआउन सुझाव दिएँ । उहाँले आज पनि मैले तपाईँहरुले नसोचेको एक्सन लिन्छु भन्दै धम्कीको भाषा प्रयोग गर्नु भएको छ । पटक पटक आज पनि अब अलग अलग गरौँ भन्नु भयो ।’
सचिवालयका ६ जनाले पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने निर्णय गरेका स्रोतले जनाएको छ । छलफलमा सहभागी एक सचिवालय सदस्यका अनुसार पार्टीको निर्णय सबैले मान्नेगरी विधि र पद्दतीमा पार्टी चलाउनेगरी पहल गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ । त्यसका लागि प्रचण्डले ओलीसँग संवाद गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया