काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन । शीर्ष नेताहरुबीच कुरा नमिल्दा केन्द्रीय कमिटी बैठक एक महिना पछि सारिएको छ भने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि पातलिएको छ ।
अहिले दुई अध्यक्षले भेटवार्ता गरेका छैनन् । यसअघि आपसी छलफलका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्थे भने अहिले झण्डै १० दिनदेखि प्रचण्डले ओलीलाई भेटेका छैनन् ।
भेटघाट नभएपनि दुवै अध्यक्षबीच सन्देश आदानप्रदान भने भइरहेको सचिवालयले जनाएको छ । दुवै अध्यक्षले दोस्रो तहका नेतामार्फत सन्देश आदानप्रदान गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत दुई अध्यक्षबीचको सन्देश आदान प्रदान चलिरहेको छ ।
ओलीले छलफल नै नगरी मन्त्रिपरिषद विस्तार गरेको, पार्टीका आन्तरिक गतिविधिमा परामर्श नगर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि ओलीले छलफल गर्न प्रचण्डलाई बोलाएका थिए ।
प्रचण्डलाई भेटवार्ताका लागि बोलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।
प्रचण्डले ओलीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।
त्यस्तै प्रचण्डले एक्लाएक्लै भेटवार्ताको अर्थ नभएको भन्दै बैठकबाट निकास खोज्ने प्रधानमन्त्रीलाई सन्देश पठाएको सचिवालयले जनाएको छ ।
उनले पार्टीको आन्तरिक गतिविधिदेखि रअ प्रकरण तथा पर्सा घटनालगायतका विषय टुग्याउन सामूहिक निर्णय लिनुपर्ने बताएका थिए ।
भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेको भन्दै नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।
त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।
पछिल्लो समय पर्सामा नेकपाका एक स्थानीय नेताको हत्या प्रकरणले पनि पार्टीमा समस्या निम्तिएको छ । राजनीतिक दबाबमा प्रहरीले घटनामा संलग्नविरुद्धको जाहेरी लिन मानेको छैन ।
प्रतिक्रिया