काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत गर्न थालेको जानकारी दिए । ‘फोन गरेर खाल्टाखुल्टी भएको तथा सडक बिग्रिएको टिपाएका आधारमा पनि हामीले समाधान गर्न थालेका छौं,’ उनले राजधानीसँग भने ।
काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएसँगै डिभिजन कार्यालय काठमाडौंले अब फोनमा टिपाएको गुनासालाई पनि सम्बोधन गर्न थालेको हो । डिभिजन प्रमुख नेपालीले विगत एक वर्षमा १० हजारभन्दा बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी दिए । यसअघि काठमाडौं उपत्यकामा खाल्टाखुल्टीका कारण सडकमा सवारी गुडाउन नमिल्ने अवस्था हुने गरेकामा अहिले भने सुधारिएको सर्वसाधारणहरू बताउँछन् ।
सरकारले सडकका खाल्टाखुल्टी पुर्नका साथै ओभर लेको कामलाई पनि उति नै महत्व दिएको पाइएको छ । डिभिजन कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा ४२ किलोमिटर सडकको कालोपत्रे थप ‘ओभर ले’ को काम सक्ने लक्ष्य राखेकामा त्यो सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा पनि बिग्रेका सडकको मर्मत तथा ओभर लेको काम जारी रहने उनको भनाइ छ । (राजधानी दैनिक)
प्रतिक्रिया