राजधानीमै नक्कली मह बनाउँदै बेच्दै, मैदाको चाका !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७७, मंगलवार ०४:३२

काठमाडौं। काठमाडौंको गोंगबुस्थित एक होटेलमा केही ब्यापारीहरुले नक्कली मह बनाएर बेच्ने गरेको खुलासा भएको छ ।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटेलमा बसेर नक्कली महको धन्दा चलाइरहेको भेटाएको हो ।

अनुगमन टोलीले गोंगबु मित्रनगरस्थित होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला पारेको हो ।

होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताएका छन्।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी वृत्त बालाजुले जनाएको छ ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ गते ४ जना थपिए । हिजो अर्थात् असोज २५ गते ६ जना आए । उनीहरु मह व्यापारी हौं भन्थे । कोठामा बस्थे । दिउँसो मह बेच्न जान्थे । बेलुका फर्कन्थे ।


पराजुलीकी श्रीमतिकाअनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । यस अघि २०७६ को पुष माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए ।

पहिले पनि आउने जाने गरेकाले उनीहरुको परिचय पत्र आफूहरुले नखोजेको होटेल सञ्चालक पराजुलीले बताए । उनीहरु महोत्तरीतिरका भएको पराजुलीले बताए ।

अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् त्यसबारे अध्ययन भइरहेको छ ।

अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका भेटिएको थियो । यस्तै अन्य सानातिना धेरै पोकासमेत फेला परेको भण्डारीले बताए ।

अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘यो सक्कली काम हुँदै होइन । लेवलबिनाका सामान बेच्नु सरासर गैरकानुनी हो । त्यसमा पनि मह शतप्रतिशत नक्कली हो ।’

होटलका कर्मचारीले एउटा पोको खोलेर देखाए । त्यहाँ भएको बाक्लो र च्यापच्याप हुने तरल पदार्थमा चाका डुवाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१