कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले यसरी गर्छ व्यवस्थापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०७७, बिहीबार ०५:२६

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले बढ्दो क्रममा छ । आज नेपालमै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । एक्टिभ संक्रमितको संख्या पनि २५ हजार नाघेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या आजसम्म ९४ हजार २ सय ९३ जना पुगेको छ । ६८ हजार ६ सय ६८ जनाले कोरोना जितिसकेका छन् । नेपालमा ५ सय ७८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमबाट निधन भएकाको शव निश्चित मापदण्ड बनाएर व्यवस्थापन गरिन्छ । संसारका धेरै देशले कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मेवारी सुरक्षाकर्मीलाई दिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । त्यस्ता शव नेपाली सेनाले भूगोल र परम्परालगायतका कुरालाई ध्यान दिएर गाड्ने वा जलाउने गरेको छ ।

नेपाली सेनाले शव व्यवस्थापनका लागि तालिम नै दिएर देशभर शव व्यवस्थापनका लागि जनशक्ति खटाएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लवका अनुसार जिल्लामा रहेको प्रत्येक व्यारेकमा ३ –४वटा टिम निर्माण गरेर शव व्यवस्थापनमा खटाइएको छ ।

एउटा टिमले दिनमा ३–४ वटासम्म शव व्यवस्थापन गर्ने प्रवक्ता बल्लवले नागरिकखबरलाई जानकारी दिए। २०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शव व्यवस्थापनको निर्देशिका बनाएर सेनालाई शव व्यवस्थापनको जिम्मा दिएको थियो ।

कोरोनाबाट कुनै व्यक्तिको निधन भएमा उक्त शव अस्पतालले नेपाली सेनासँगको सम्पर्कमा शव व्यवस्थापन टोलीको जिम्मा लगाउँछ । त्यसै अनुसार परिवारसँग सहकार्य गरेर नेपाली सेनाले परम्परा, धर्म, संस्कारलगायतका कुरालाई ध्यान दिएर अन्तेष्टि गर्दै आएको छ ।

काठमाडौं उपत्यकाको शव व्यवस्थापन पशुपति आर्यघाट र स्वयम्भूलगायतका ठाउँमा हुने गरेको छ । उपत्यकाको शव व्यवस्थापनमा अस्पतालहरुले ढिलागरीमात्रै शव जिम्मा लगाउने भएकाले ढिलाइ हुन थालेको छ ।

शव बाहन कम हुनु र एउटा मात्रै घाट भएकाले पनि पछिल्लो समय शव व्यवस्थापनमा ढिलाइ भएको नेपाली सेनाले जनाएको छ । एउटै टोलीले निरन्तर २ देखि ३ वटासम्म शव व्यवस्थापन गर्ने गरेको प्रवक्ता बल्लवले जानकारी दिए ।

उपत्यकाका अस्पतालहरुमा एउटै अस्पतालमा दुई तीनवटा शव हुँदा नेपाली सेनाले एकै पटकमा उठाउने गरेको छ । पिपिइ लगाउँदा देखिने समस्या, शव बाहनको कमीलगायतका कारणले एक दिनमा परिचालन भएको टोली क्वारेन्टिनमा बसेर रिपोर्ट नेगेटिभ आएपछि मात्र फेरि अर्को पटक परिचालन हुने गरेको छ ।

पिपिइ लगाउन नजानेको अवस्थामा सबैभन्दा पहिले संक्रमित बन्ने सम्भावना हुन्छ । त्यसैले एक पटक पिपिइलगाएर फिल्डमा गएको टोलीले धेरै भन्दा धेरै शव व्यवस्थापन गरेर क्वारेन्टिनमा फर्किने गरेको छ ।

नेपाली सेनाले सैनिक मुख्यालयबाटै शव व्यवस्थापनको तालिका बनाउने गरेको छ । मुख्यालयबाट सम्बन्धित जिल्लामा रहेको ब्यारेकमा शव भएको अस्पताल र ठेगाना दिएपछि मात्र शव व्यवस्थापन हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१