काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल हुनेछ ।
आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा तीनजना मन्त्री तत्काल थपेर जाने सहमति भएको स्रोतको दावी छ । त्यसका लागि भोलि नै सचिवालय बैठक बोलाइएको हो ।
दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा अध्यक्षद्वयको तर्फबाट तीनजना मन्त्री थपेर अगाडि बढ्ने विषयमा सहमति भएको बालुवाटार स्रोतको भनाइ छ । सचिवालयमा सहमति भएमा एकदुई दिनमै तीनजना मन्त्री थप्ने तयारी छ ।
स्रोतका अनुसार अर्थमन्त्रीमा महासचिव विष्णु पौडेल, शहरी विकासमा सुरेन्द्र पाण्डे र सञ्चारमा जनार्दन शर्मालाई तत्काल थपेर दसैँ तिहारपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ ।
महासचिव पौडेलले भने आफू अर्थमन्त्री नबन्ने बताएका छन् । उनले सबैभन्दा पहिले प्रदेश ५ नम्बर प्रदेशको राजधानी बुटवल नै कायम गर्नुपर्ने माग गरेका बालुवाटार स्रोतको भनाइ छ ।
प्रतिक्रिया