काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी भालुवाङ राख्ने निर्णय पुनर्विचारका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव पौडेलले निर्णय पुनर्विचार गर्न आग्रह गरेका स्रोतको भनाइ छ । महासचिव पौडेलले भने, ‘सबै ठाउँको राजधानी अस्थायी ठाउँमा हुने, प्रदेश ५ मामात्रै निर्णय फरक भयो । प्रदेश ५ मा अन्याय भयो, निर्णय पुनर्विचार हुनुपर्छ ।’
अध्यक्षद्वय ओली प्रचण्डसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित भेटवार्तामा पौडेलले असन्तुष्टि व्यक्त गरे । पौडेलले थपे, ‘लुम्बिनी क्षेत्रमाथि थप अन्याय भएको छ । जनताको भावनाविरुद्धको कदममा साथ दिन सक्ने अवस्था छैन । त्यसैले यो निर्णय पुनर्विचार हुनुपर्छ ।’
महासचिव पौडेलले अध्यक्षद्वयलाई दबाब दिँदा पोखरेल सुनेर बसेका थिए । उनले दाङ राजधानी बनाउनु पर्नेमा जोड दिएका छन् । अध्यक्षद्वयको सहमति लिएर पोखरेलले दाङको भालुवाङ र आसपासको क्षेत्रलाई राजधानीका लागि प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया