१२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७७, सोमबार ०५:१६

काठमाडौँ। कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना टुङ्गोमा नपुग्दै दुई वर्षको अवधिमा उनीजस्तै अन्य अबोध बालिकाले ज्यान गुमाउनु परेको छ । पछिल्लो शिकार बनेकी छन् बझाङकी १२ वर्षीया सम्झना विक ।

यही असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका-२ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढायो ।

बलात्कारपछि हत्या

सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल, बझाङले प्रहरीलाई दिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको हो ।

ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टले यौनाङ्गमा घाउ भएको देखाएको छ । उनको टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ ।’ ती अधिकारीका अनुसार बलात्कारीसँग प्रतिकार गर्ने क्रममा उनको शरीरमा चोटपटक लागेको देखिन्छ ।

यसअघि चिकित्सकहरूले उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनी प्रारम्भिक रिपोर्ट प्रहरीलाई दिएका थिए । ती प्रहरी अधिकारीले भने, ‘अस्पतालको रिपोर्टअनुसार बालिकाको कलेजोमा पनि ठूलो घाउ देखिएको छ, उनलाई बलात्कारपछि हिर्काउँदा त्यो चोट लागेको हुनसक्छ ।’

अनुसन्धानमा डिएसपी नेतृत्वको टोली

अहिले बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रूपक खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । डिएसपी खड्काले खबरहबसँग भने, ‘घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ, अस्पतालको पोष्टमार्टम रिपोर्टले पनि त्यस्तै इंगित गरेको छ । अहिले हामी थप प्रमाण जुटाउने र अनुन्धान गर्ने काम गरिरहेका छौँ । यथासक्य चाँडो वास्तविकता बाहिर ल्याउँछौँ ।’

उनका अनुसार अहिले घटनास्थल र आसपासका बासिन्दासँग सोधपुछलगायत अन्य अनुसन्धानको काम सकिएको छ । अहिलेसम्म फेला परेको तथ्य र प्रमाणहरू हेर्दा उनको बलात्कारपछि हत्या भएको देखिएको छ ।

एक जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ । डिएसपी खड्काका अनुसार प्रारम्भिक अनुसन्धानले राजेन्द्रको संलग्नता देखिएको छ ।

खड्काले भने, ‘पक्राउ परेको बोहरालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छौं, अहिलेसम्मको अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणहरू हेर्दा उसैले बलात्कारपछि हत्या गरेको देखिन्छ ।’ राजेन्द्रले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

डिएसपी खड्काका अनुसार राजेन्द्र यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा मुछिएका व्यक्ति हुन् । राजेन्द्र र सम्झनाको घर जम्मा १० मिनेटको पैदल दूरीमा छ । गाईबस्तु पुर्‍याउन जाने बाटोमा कहिलेकाहीँ राजेन्द्रले सम्झनालाई पछ्याउने गरेको पनि प्रहरी अनुसन्धानले खुलासा गरेको छ ।

बेलाबेलामा राजेन्द्रले सम्झनासँग कानमा लगाएको मुन्द्री माग्ने गरेको कुरा समेत आफन्तसँग प्रहरीले गरेको कुराकानीबाट खुलेको छ । अहिले घटनामा राजेन्द्रका साथ अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरी केन्द्रित भएको छ ।

प्रहरीका अनुसार राजेन्द्रलाई स्थानीय बासिन्दाले खराब व्यक्ति मान्छन् । उनका साथमा अरू एकदुई जना पनि हुन्थे । उनीहरूले गाउँमा पटकपटक चोरी गरेका थिए । उनीहरूले गाउँमा चोर्न कुनै घर बाँकी नराखेको स्थानीयबासिन्दाले बताएको प्रहरीको भनाइ छ ।

यसरी भयो घटना

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार २०७७ असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे हजुरआमासहित परिवारसँगै बसेर सम्झनाले खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा बस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् । डिएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।

नजिकैको मन्दिरमा लगेर बलात्कारपछि सम्झनाको हत्या भयो । धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोकोनाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला परेको थियो ।

सम्झनाले कानमा लगाएको पाँच आना सुनको गहना लगाएकी थिइन् । उननको शव फेला पर्दा कान रित्तै थियो ।

६ कक्षामा पढ्थिन् सम्झना

प्रहरीका अनुसार विपन्न परिवारकी सम्झना स्थानीय मष्टा निम्न माध्यामिक विद्यालयको कक्षा ६ मा पढ्थिन् । कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काममा लागेकी थिइन् ।

सम्झनाका बुवा बिजुली कामी र आमा धउली कामी मजदुरीका लागि भारत कर्नाटकमा छन् । उनीहरूका एक छोरा र दुई छोरी पनि भारतमै छन् । जेठी छोरी सम्झना भने घरमा हजुरबाआमासँग बस्थिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१