घरजग्गा कारोबारमा अप्रत्याशित उछाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७७, आईतवार ०५:३७

काठमाडौं। कोभिड-१९ ले ६ महिनादेखि प्रभावित घरजग्गा कारोबारमा उछाल आउने संकेत देखिएको छ। भदौमा महिनाभरी भएको घरजग्गा कारोबार बराबर असोज लागेको ८ दिनमै भएकाले यस्तो देखिएको हो।

भदौमा महिनाभरी १४ हजार घरजग्गा किनबेच भएको थियो। असोजको पहिलो ८ दिनमै १३ हजार हाराहारी घरजग्गा किनबेच भइसकेका छन्।
भदौमा उपत्यकाका मालपोत कार्यालय बन्द थिए। यसले पनि कारोबार संख्यामा उपत्यकाको योगदान न्यून थियो। उपत्यका बाहिर धेरैजसो ठाउँमा कार्यालय खुल्ला रहे पनि कारोबार संख्या भने अहिलेसम्मकै न्यून रहेको थियो। असोजमा भने ८ कारोबार दिनमै दैनिक औसत १५ सयभन्दा बढी घरजग्गा किनबेच हुँदा १३ हजारभन्दा बढी घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। तर असोजमा ८ दिन सम्मको कारोबार किनबेच भन्दा रोक्का र फुकुवा गर्नेकै संख्या बढी देखिएको छ।

असोजको पहिलो एक हप्तामा १३ हजार जग्गा किनबेच हुँदा रोक्का राख्नेको संख्या भने १४ हजारभन्दा बढी रहेको विभागको तथ्यांक छ। भदौमा भने महिनाभरी रोक्का भएको घरजग्गाको संख्या १८ हजार थियो। त्यस्तै फुकुवा गर्नेको संख्या पनि ८ कारोबार दिनमा ८ हजारभन्दा बढी पुगेको छ। भदौमा महिनाभर ११ हजार घरजग्गा मात्रै फुकुवा भएका थिए।

गत चैतदेखि प्रभावित भएको घरजग्गा कारोबारले ६ महिनापछि गति लिएको हो। यस अघि असारमा ४३ हजार र साउनमा ३९ हजार घरजग्गा किनबेच भएका थिए। असोजमा भने यही गतिमा कारोबार भए लकडाउनपछिकै सबैभन्दा बढी घरजग्गा कारोबार हुने पक्का छ। सामान्य समयमा भने मासिक ५० देखि ५५ हजारसम्म घरजग्गा किनबेच हुने गरेको विभागको तथ्यांक छ।

उपत्यकामा पनि किनबेचभन्दा रोक्का-फुकुवा नै बढी
काठमाडौं उपत्यकाका मालपोत कार्यालयको तथ्यांकमा पनि किनबेचभन्दा रोक्का-फुकुवा नै बढी देखिएको छ। उपत्यकामा कोरोना संक्रमणको जोखिम बढी भएकाले मालपोत कार्यालयले पालैपालो घरजग्गा किनबेचको काम गरिरहेका छन्। तर रोक्का-फुकुवाका लागि भने पालो कुर्न नपर्ने भएकाले पनि किनबेचभन्दा रोक्का-फुकुवाको संख्या बढी देखिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

उपत्यकामा ८ कारोबार दिनमा करिब १४ सय घरजग्गा किनबेच हुँदा १५ सय घरजग्गा रोक्का राख्ने काम भएको छ। त्यस्तै एक हजार घरजग्गा फुकुवाको काम भएको छ।

एक अर्ब बढी राजस्व
असोज लागेपछि सातामै एक अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको महानिर्देशक पौडेलले बताए। भदौमा भने महिनाभर एक अर्ब २३ करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन शुल्क संकलन भएको थियो।

८ कारोबार दिनमा मात्रै अहिले सबैखाले गरि एक अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। १०८ वटा कार्यालयबाट मात्रै दैनिक १२ देखि २० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै विभाग एक सातामा मात्रै महिनाभरको राजस्व संकलन गर्न सफल भएको हो।
कोरोना संक्रमणको बीचमा पनि सबै कार्यालय खुल्ला गरेर सावाधानीका साथ सुरु गरिएको मालपोतको कामले उत्साहजनक रुपमा राजस्व संकलन गर्न सफल भएको पौडेलले बताए।

बैंकको ऋणको दवाबले बढ्यो कारोबार
घरजग्गामा लगानी गरेका व्यावसायीहरुले असोज मसान्तसम्म ऋणको साँवाब्याज तिर्नुपर्ने हुन्छ। कोभिड-१९ लाई कारण देखाउँदै कर्जा भुक्तानी गर्ने समय सारिरहेका व्यावसायीहरुलाई यतिबेला बैंक तथा वित्तीय संस्थाले जसरी पनि कर्जा भुक्तानीका लागि दवाब दिन थालेका छन्।

त्यसकारण व्यावसायीहरुले बजार मूल्य भन्दा सस्तो दरमै घरजग्गा बिक्री गरिरहेकाले पनि यतिबेला कारोबार बढ्ने एक घरजग्गा व्यवसायीले बताए। ‘जग्गा नबेचेसम्म ऋण तिर्न नसक्ने र ऋण नतिरे बैंकले धितो लिलाम गर्ने चेतावनी दिएपछि व्यवसायीहरुले अलि सस्तो मूल्यमै भए पनि घरजग्गा बेच्न थालेका छन्,’ उनले भने, ‘त्यसैले कारोबार भएको देखिएको हो।’

मध्यमवर्गीय अधिकांश मानिसको आयस्रोत सुक्दा घरजग्गा किन्न नसक्ने अवस्थामा पुगेका छन्। लामो समय व्यापार व्यवसाय ठप्प रहँदा कारोबारीहरूका हात खाली छन्। यस्तो बेला लागेको ऋण निखन्न धेरैले घरजग्गा बेच्ने विकल्प देखेका छन्। पैसा हुनेहरु भने यतिबेला लगानी गर्दा पछि भाउ बढेको अवस्थामा राम्रो दाम हात पर्ने आकलन गर्दै चर्को बार्गेनिङ गरेर घरजग्गामा लगानी बढाइरहेका छन्।

आफ्नो लगानी केही समय ‘होल्ड’ रहँदा पनि केही पछि राम्रो नाफा हात पर्ने हिसाब लगाइरहेकाहरूले सस्तोमा घरजग्गा खोज्दै खरिद गरिरहेका छन्।

घरजग्गा कारोबार बन्द हुँदा केही लगानीकर्ताहरुले सेयर बजारमा लगानी गरेर नाफा बुक गरेका छन्। लकडाउनसँगै सेयर बजारमा थपिएका नयाँ लगानीकर्ता देखिनुको कारण यही थियो। घरजग्गामा लगानी गर्ने अवसर पाउनेबित्तिकै बाँकी रहेका लगानीकर्ताहरु पनि सेयर बजारबाट बाहिरिने र घरजग्गा लगानीमा केन्द्रित हुन सक्ने घरघडेरीका कारोबारीहरूको अनुमान छ।

घरजग्गा कारोबारी अनलाइनमा
आफ्नो घरजग्गा बेच्दा दलालले धेरै नाफा खान्छन् भन्ने जनमानसको बुझाइ बेठीक होइन। अब कारोबारीहरू अनलाइनमा झ्याम्मिएका छन्। बेच्न चाहनेलाई सोझै खरिदकर्ता सम्पर्क गराइदिएर आफ्नो निश्चित कमिसन लिन थालेका छन्।

इन्टरनेटको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै कारोबारीहरूले आआफ्ना अनलाइनमा घरजग्गा बिक्रीका सूचना निकाल्ने होडबाजी सुरू भएको छ। आधा दर्जनभन्दा बढी यस्ता अनलाइनहरूले उपत्यकाका बिभिन्न स्थानमा घर जग्गा बेच्न चाहनेसँग सम्पर्क गरेर सूचना प्रकाशित गरिरहेका छन्। धेरै बिक्रीका सूचना बुढानीलकण्ठ, टीकाथली, बालकोट, कलंकी, कपन र थानकोट क्षेत्रका देखिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१