जीवित जन्मेको बच्चा प्रसुती गृहले फ्याँक्यो, रोइरहेको देखेपछि ८ घण्टापछि बल्ल उपचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७७, बुधबार ०५:४९

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती गृहमा जीवित जन्मेको शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फोहोरमा फ्याँकेर उपचारमा चरम लापरबाही गरेको पाइएको छ । सिन्धुली गोलन्जोर–२ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्तिको शिशुको उपचारमा उक्त अस्पतालले यस्तो चरम लापरबाही गरेको हो ।

गर्भवती अञ्जुलाई असहज भएपछि श्रीमान उत्तमले आइतबार थापाथली अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याएपछि अन्जुलाई रक्तस्राव सुरु भयो । रक्तस्राव हुँदै गएपछि नर्सहरुले बच्चा जन्मन लागेको बताए । श्रीमान् उत्तमका अनुसार श्रीमती मञ्जुलाई प्रसुती कक्षमा नलगी सामान्य वार्डमै सुत्केरी गराउने औषधि दिइएको थियो । त्यसपछि सोमबार विहान २ बजे (राति) अन्जुले बच्चालाई जन्म दिइन् ।

बच्चाको तौल ६ सय ग्राम मात्र भएको र समय नपुगी (प्रिम्याच्योर) जन्मेकाले बच्चा नबाँच्ने चिकित्सकले बताए । ‘डाक्टरले भनेपछि हामीले विश्वास गर्यौं,’ उत्तम भन्छन्, ‘त्यसपछि हामीलाई बच्चा हेर्न दिएनन् । कोपारामा राखेर फोहोर जम्मा गर्ने जस्तो कोठामा लगेर राखे ।’ स्वास्थ्यकर्मीले उत्तम दम्पत्तीलाई बच्चाको मृत्यु भएपछि अन्तिम संस्कार गर्न लैजानु भने ।

चिकित्सकले भनेपछि उत्तम दम्पत्तीले विश्वास नगर्ने कुरा भएन । उनीहरूले शिशुको माया मारे । बच्चा नबाँच्ने भनेपछि उत्तमलाई बच्चाको ‘मृत्यु प्रमाणपत्र’ मा सही गर्न लगाइयो । पहिलो बच्चाको यस्तो अवस्था हुँदा उत्तम दम्पत्ती हदै तनाबमा पुग्यो । ‘हामीले कसलाई गुहार्ने भन्ने सोच्नै सकेनौ,’ उत्तम भन्छन् ।

शिशुलाई फ्याँकेको करिव ८ घण्टापछि गएर हेर्दा बच्चा रोइरहेकोको पाएको उत्तमले बताए । उनका अनुसार, बच्चाले हातखुट्टा फ्याँकेर रोइरहेको थियो, त्यसपछि बच्चा बाँच्छ क्यारे भनेर उनले नर्सलाई भने । ‘त्यतिखेर राउन्डमा अर्को डाक्टर आउनुभएको थियो । मैले उहाँलाई लगेर बच्चालाई देखाएँ । उहाँले बच्चालाई भेन्टिलेटरमा राख्दा बाँच्न सक्छ भन्नु भयो’ उत्तमले भने, ‘त्यसपछि शिशु फ्याँकिएको ८ घण्टामा बल्ल उसको उपचार सुरू गरियो । सास छउन्जेल आस भनेझैं शिशु बौरिने आस पलायो ।’

अहिले शिशु भेन्टिलेटमा हातखुट्टा फ्याँकेर खेलिरहेको छ । उत्तमले मंगलबार दिउँसो ५ बजे नवजात शिशुलाई हेरेर केही सेकेन्डको भिडियो खिचेका छन् । त्यसमा शिशु रोइरहेको र हातखुट्टा सामान्य शिशुले जस्तै फ्याँकिरहेको देखिन्छ ।

समयमै उपचार पाएको भए शिशुको अवस्था अझ राम्रो हुने सहजै अनुमान गर्न सकिन्छ । ‘बच्चा जन्मिदा स्वासप्रस्वास सामान्य रहेको अवस्थामा थप उपचार सुरू गर्नुपर्ने सामान्य चिकित्सकीय आचार संहिता हो । स्वास फेर्न छाडेको शिशुको समेत स्वासप्रस्वास फर्काउन सकिन्छ कि भनेर हामी प्रयास गर्छौं,’ एक प्रशुती विज्ञले नाम नबताउने सर्तमा भनिन्, ‘स्वास फेरिरहेको शिशुलाई गार्बेजमा फ्याँकेर प्रसुती गृहका स्वास्थ्यकर्मीले चरम लापर्वाही गरेका छन् । कानुनी र मानवीय दृष्टिले पनि यस्तो गर्नु अपराध हो ।’

उनका अनुसार, बच्चा जन्मेपछि बालरोग विशेषज्ञ, प्रसुती विज्ञ र स्टाफ नर्ससहितले संयुक्त रूपमा निर्णय नगरी शिशुको मृत्यु घोषणा गर्न नसकिने बताइन् ।

बच्चा कति हप्ताको भनेर हिसाव गर्न गर्भवती महिलाको अन्तिम महिनावारीबाट गणना गरेर निकालिन्छ । कहिलेकाहिँ महिनावारीको ठ्याक्कै मिति थाहा नहुँदा गर्भाधान मिति अगाडिकै पनि हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला अवधि नपुगी जन्मेको र कम तौलको भए पनि शिशुको उपचारमा लापर्वाही गर्न नहुने बताउँछन् । ‘नबाँच्ने जस्तो चिकित्सकलाई लागे पनि शिशुलाई कस्तो ब्यवहार गर्ने भन्ने मानवीय कुरा पनि हो,’ उनले भने, ‘यसबारेमा म मेडिकल काउन्सिलको इथिकल कमिटीमा कुरा राख्छु ।’

प्रसूति गृहको बच्चा विभागकी प्रमुख डा. कल्पना सुवेदीले भने यस्तो बच्चा बाँच्यो भने आश्चर्य हुने बताइन् । ‘बाँच्ने सम्भावना अति कम हुन्छ भनेर हामीले उहाँहरुलाई जानकारी दियौं । हाम्रोमा भेन्टिलेटर खाली थिएन्,’ डा. सुवेदीले भनिन्, ‘अन्त लानुहुन्छ कि माया मार्नुहुन्छ भन्दा बाँच्न सक्दैन भने ठिकै छ भनेकाले उहाँहरुलाई हस्ताक्षर गर्न लगाइएको हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१