ग्राण्डी सिटी हस्पिटल अवैध हो : उद्योगपति पद्मज्योती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७७, शुक्रबार ०६:०५

काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको उक्त भवनका मालिक तथा उद्योगपति पद्मज्योतीले नै पुष्टि गरेका छन् । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलले सात वर्षअघि सम्पर्क क्लिनिकको रूपमा खोलेको ग्राण्डी सिटी क्लिनिक अहिले अवैध हस्पिटल बनेको हो ।

ज्योतिले हालै प्रकाशित गरेको सार्वजनिक सूचनामा भाइ डा. रूपज्योती र मिला सायमी मिलेर खोलेको उक्त अस्पतालले आफ्नो स्वामित्वको भवन समेत प्रयोग गरेपनि हालसम्म भाडा नदिएको उल्लेख गरेका छन् । साथै, उनले भाइ र मिलाले आफूसँग घरभाडाको सम्झौता समेत नगरी एकतर्फी रूपमा भवन प्रयोग गरेको आरोप लगाएका छन् ।

जनआस्था अनलाइनले गत महिना ‘यौटा अस्पताल जो कतै दर्तै छैन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अहिले पद्मज्योतीले पनि सबै सरकारी निकायमा भिडाएको विवरणबाट उक्त अस्पताल अवैध नै भएको ठोकुवा गरेका छन् ।

उनले हालै प्रकाशित गरेको सूचनामा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ मा इजाजतपत्र प्राप्त नगरी अस्पताल सञ्चालन गरेको अवस्थामा दण्डात्मक व्यवस्था रहेकोले गैरकानुनी रूपमा सञ्चालित अस्पतालमा सेवारत चिकित्सकको आचारसंहिताको वैधता, चिकित्साको गुणस्तर र सर्वसाधारणको जीवनमा पर्नसक्ने असरको बारेमा समेत प्रश्न उठेको…’ उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘आमजनताको स्वास्थ्य जस्तो गम्भीर विषयसँग सम्बन्धित भएकाले राज्यका जिम्मेवार निकायले तत्काल गैरकानुनी सञ्चालन रोकी बलजफ्ती बसेको घर खालि गराई तत्पश्चात् थप अनुसन्धान र कारबाही गर्ने अपेक्षा राखेको छु ।’

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् । गत वर्ष घरजग्गा कारोबारसम्बन्धी विवादमा विकेन्द्रकृष्ण मल्लको उजुरीको आधारमा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ परेर हिरासतमा राखेको थियो ।

विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो । ग्राण्डी सिटी अस्पतालले प्रतिबन्धित सरोगेसीको धन्दा चलाएपछि त्यसका अध्यक्ष रूपज्योती स्वयम् विवादमा तानिएका थिए । नेपाललगायत विश्वका धेरैजसो देशमा सरोगेसीमाथि प्रतिबन्ध छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१