कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको नोक्सान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७७, बुधबार ०४:५२

काठमाडौं । कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरुले बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ घाटा लागेको बताइएको छ ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारबालाहरुले धारणा राख्ने क्रममा त्यसको जानकारी दिएका हुन् ।

कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिए ।

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या छ तर यसमा सबैभन्दा बढी समस्यामा किसान रहेको भन्दै मन्त्री लामाले यसको समाधान दुग्ध क्षेत्रका उद्योगीहरुले पनि समाधान गर्नुपर्ने कुरामा जोड दिए । उनले किसानहरु मर्कामा परेका छन्, त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको बताए ।

डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उनले कोरोनाका कारण देखिएको समस्या चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए ।

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताउँदै हालसम्म यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए । कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको बताउँदै उनले किसानको पनि निकै नोक्सान भएको छ तर किसान धेरै भएका हुनाले त्यो देखिएको छैन तर डेरी उद्योग थोरै भएको कारणले त्यो देखिएको बताए ।

अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार कोरोनाका कारण डेरी क्षेत्र ठूलो समस्यामा परेको छ तर हालसम्म त्यसका लागि सरकारले कुनै ध्यान नदिएको गुनासो गरे । उनले भने, ‘हामी किसानबाट दुध उठाई रहेका छौं तर हामीले तयार पारेको दुग्धजन्य पदार्थ विक्रि भइरहेको छैन, हामी भण्डारण गरिरहेका छौं तर अब भण्डार कहाँ गर्ने ठाउँ पनि छैन ।’ कोरोनाका कारण ६० प्रतिशतभन्दा मार्केट समात्प भइसकेको छ, दुग्धजन्य पदार्थ कहाँ खपत गर्ने, ठाउँ छैन तर सरकार कुनै ध्यान दिएन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१