कांग्रेसले मुखपत्र ‘नेपाल पुकार’ डिजिटल र प्रिन्टमा प्रकाशन गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७७, बुधबार ०४:५०

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गर्ने निर्णय गरेको छ । विभागको दुई दिनसम्म चलेको ‘भर्चुअल’ बैठकले ‘नेपाल पुकार’ लाई प्रिन्ट र डिजिटल माध्यमबाट प्रकाशन गर्ने निर्णय गरेको हो ।

बैठकले कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री बनाउँदै अघि बढ्ने अभियान सुरूवात गर्ने, ‘प्रविधि मैत्री अभियान’ को सुरूवातमा पार्टीको वेबसाइटलाई यथाशीध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन पार्टी विधानको धारा ३७ को ९ज० बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए ।

उनकाअनुसार वेबसाइट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छहारी संवाद संयोजन उपसमितिमा डा. सुरेश आचार्य, प्रविधि संयोजन उपसमितिमा ई. दिपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाह, रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा सचिव थापा मगरलाई संयोजक तोकिएको छ ।

बैठकले विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा क्रियाशील रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा विषयगत योग्यताका व्यक्तिहरु थप समावेश गर्दै विभागमा रहेका सदस्यहरुलाई प्रदेश स्तरीय र विषयगत जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

बैठकबाट कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर बढ्दै गएको अवस्थामा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने आवश्यकता औंल्याउँदै जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका र सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ ।

उक्त उपसमितिमा नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका विभाग सदस्य डा।अन्जनी झालाई संयोजक तोकेको सचिव थापा मगरद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

‘भर्चुअल’ बैठकले विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीतिअनुरुप कार्य गर्ने निर्णय नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य राजबहादुर गुरुङले जानकारी दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१