प्रधानमन्त्री ओलीका चार विकल्प : नेपालको नयाँ अर्थमन्त्री को ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७७, सोमबार ०६:०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले पदमुक्त हुँनैलाग्दा आज पदबाट राजीनामा दिएका छन् । उनले बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाए । तर, राजीनामा नदिए पनि भोलिदेखि उनी स्वत:पदमुक्त हुने थिए ।

नेकपा सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गर्न बाँकी राष्ट्रिय सभा सदस्य बनाउने बताएपछि खतिवडाको बर्हिगमन निश्चित बनेको थियो ।

नेकपाको विवाद समाधानका लागि गठन गरिएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अबको सचिवालय बैठकपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पुनर्गठन नहुने बताएका थिए ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन नगरे पनि अर्थसहितका तीनवटा मन्त्रालयमा नयाँ मन्त्री छिट्टै पठाउने तयारी छ । उपाध्यक्ष गौतमले आफू उपप्रधानसहित अर्थमन्त्री हुने बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीका सम्भावित चार विकल्प

प्रधानमन्त्रीको चाहना अनुसार वर्तमान अर्थमन्त्री डा.खतिवडाले निरन्तरता नपाएपछि आफूलाई सजिलो हुने व्यक्तिलाई अर्थमन्त्रीको प्रस्ताव गर्नेछन् । कोरोना भाइरसको महामारीले आर्थिक क्षेत्रमा पारेको समस्या र त्यसलाई समाधान गर्नेगरी प्रधानमन्त्रीले उपयुक्त विकल्प रोज्ने उनी निकट एक नेताले जानकारी दिए ।

आफू निकट भएको र अर्थमन्त्री बनिसकेको अनुभव भएका महासचिव पौडेल प्रधानमन्त्रीको पहिलो रोजाइमा पर्ने देखिन्छ । उनी निकट नेता भन्छन्, ‘प्रधानमन्त्रीज्यूले आफूलाई सजिलो हुनेगरी विकल्पको रुपमा महासचिव पौडेललाई अर्थमन्त्री बनाउन सक्नु हुन्छ । उहाँ नगएमा अन्य विकल्पका विषयमा छलफल गर्नुहुन्छ ।’

महासचिव पौडेलले भने आफू पार्टीको महाधिवेशनमा केन्द्रित हुने भन्दै मन्त्री नबन्ने बताउँदै आएका छन् । आफू निकटसँग महासचिव पौडेलले पार्टीको काममा केन्द्रित भएर समयमै महाधिवेशन गर्ने तयारीमा असर पर्न सक्ने भएकाले अहिले मन्त्री बन्ने चाहना उनले व्यक्त गरेका छैनन् ।

दोस्रो विकल्पको रुपमा प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफूसँगै राख्ने र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा खतिवडालाई नियुक्त गर्नेछन् । त्यस्तो अवस्थामा खतिवडाले नै अर्थ मन्त्रालय चलाउने एक सचिवालय सदस्यले दावी गरे । उनले भने, ‘प्रधानमन्त्रीले आफूले नै अर्थ मन्त्रालय राख्ने र खतिवडामार्फत मन्त्रालय सञ्चालनको तयारी पनि गर्नु भएको छ । एक प्रकारले छायाँमन्त्रीको रुपमा खतिवडाले काम गर्ने सम्भावना छ ।’

तेस्रो विकल्पको रुपमा उपाध्यक्ष गौतमलाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी दिने । यो विकल्प झिनो सम्भावनामा केन्द्रित भएको नेताहरु बताउँछन् । संकटमा पुगेको अर्थतन्त्रलाई उकास्नका लागि अर्थको अनुभव नभएका गौतमलाई मन्त्री बनाउनु समस्या सावित हुने प्रधानमन्त्रीको बुझाइ रहेको नेताहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीसँग चौथो विकल्पकोरुपमा वर्तमान मन्त्रिमण्डलका सदस्यमध्ये पूर्वअर्थमन्त्रीसमेत रहेका वर्षमान पुन अनन्त वा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमध्ये एकजनालाई अर्थमन्त्री बनाउने छन् । एक सचिवालय सदस्य भन्छन्, यो सम्भावना सबैभन्दा कमजोर सम्भावना हो । छैन भन्दा पनि हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१