कपनमा सुन किन्न बोलाएर १३ लाख लुटपाट,लुटेरा समूहका ५ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७७, आईतवार ०५:१४

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका छन् । कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन् ।

बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।

‘सस्तोमा सुन बेच्ने’ सपना देखाएर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुनको डिल गरेका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक आउन भनेका थिए ।

गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागे ।

लुटेको पैसाले मकलवारी बस्ने सो समूहका मेखबहादुरले प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटपाटमा प्रयोग भएको बा.२४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७५ हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले जानकारी दिए । लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक फरार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१