बामदेवको फोन : ‘राष्ट्रिय सभामा लैजान सहयोग गर्नुस्, म अर्थमन्त्री बन्छु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७७, बिहीबार ०६:०३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने पूर्व निर्णयमा सहयोग गर्न सचिवालय सदस्यलाई आग्रह गरेका छन् । सचिवालयका अधिकांश नेताहरुलाई फोन गरेर उपाध्यक्ष गौतमले  सचिवालय बैठकमार्फत राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गौतमले आफूलाई पूर्वनिर्णय अनुसार राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने अडान राखेका थिए । त्यस लगत्तै उनले विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको पूर्व निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उपाध्यक्ष गौतमले सचिवालयका अन्य सदस्यलाई फोन गरेर आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन पहल गर्न आग्रह गरेका एक सचिवालय सदस्यले बताए । उनले भने, ‘उहाँले प्रधानमन्त्री ज्यूलाई पनि भेटेर भन्नु भएको रहेछ । मलाईँ पनि त्यहीँ भन्नु भयो । उहाँले अर्थमन्त्री बन्ने इच्छा देखाउनु भएको छ । आजको सचिवालय बैठकमा छलफल हुन्छ ।’

अर्का सचिवालय सदस्यसँग पनि बामदेवले भने, ‘मलाई राष्ट्रिय सभा सदस्य बनाउन सहयोग गर्नुस्, म अर्थमन्त्री बन्छु । समग्र देशको आर्थिक अवस्था राम्रो बनाउनेगरी काम गर्छु । तपाईँहरुले सहयोग गर्नुपर्छ । यो निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तयार हुनुहुन्न । पार्टीलाई विधि र पद्दती अनुसार चलाउनु पर्छ ।’

फागुन २० गते दोस्रो पटक अर्थमन्त्री बनेका युवराज खतिवडाको कार्यकाल भदौ २० गते ६ महिना पुग्दैछ । ६ महिनाभित्र सांसद नभएमा उनको कार्यकाल स्वत: समाप्त हुनेछ । यसअघि माघमा बसेको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सरकारको सिफारिसमा हुने एक सदस्य अहिलेसम्म नियुक्त हुन सकेको छैन ।

प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने सचिवालयका अन्य सदस्यले भने अन्य व्यक्ति हुनुपर्ने तर्क गरिरहेका छन् । तर, यहीँबीचमा उपाध्यक्ष गौतमले आफू राष्ट्रिय सभामा जाने घोषणा गरेपछि नेकपामा फेरि विवाद सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१