ओली-प्रचण्डबीचको भेटवार्ता सकियो : राष्ट्रिय सभामा बामदेव कि युवराज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७७, बिहीबार ०५:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घन्टासम्म चलेको भेटवार्ता भोलि बस्ने भनिएको सचिवालय बैठकका एजेण्डामा केन्द्रित रहेको अध्यक्षद्वयको सचिवालयले जनाएको छ ।

नेकपाको विवाद समाधानका लागि कार्यदलले दिएको सुझाव प्रतिवेदन र एकजना राष्ट्रिय सभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने मनोनित गर्ने विषयमा अध्यक्षद्वयबीच छलफल भएको छ । नेकपा सचिवालय बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री ओलीले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्नुपर्ने बताउँदै आएका छन् भने उपाध्यक्ष बामदेव गौतमले पुरानो निर्णय अनुसार आफू राष्ट्रिय सभा सदस्य हुनुपर्ने भन्दै लविङ गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर गौतमले माघमा भएको पार्टी सचिवालयको निर्णय यथावत रहेकाले आफू नै राष्ट्रिय सभा सदस्य हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट मनोनित एकजनालाई राजीनामा गर्न लगाएर गौतम र खतिवडा दुवैजनालाई राष्ट्रिय सभामा लैजाने विकल्प प्रस्ताव गरेका स्रोतको भनाइ छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले भने सचिवालय बैठकमा थप छलफल गरेर निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा सदस्यको टुंगो लागेपछि आफू नेतृत्वको मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

कमिसन लिनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सकभर यहीँ चरणमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चिट दिन ढिलाइ गरेमा भने अर्को चरणमा मन्त्रिपरिषदमा सहभागी गराउनेगरी प्रधानमन्त्री ओलीले तयारी गरेका स्रोतको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१