धादिङ : कोरोना भाइरसको जोखिमका कारण मानिस भेटघाट हुन जिल्लाभर कडाइ गरिएको छ। संक्रमण आफूलाई पनि सर्न सक्ने जोखिमका कारण स्वयं व्यक्ति नै सतर्क हुनुपर्ने अवस्थामा धादिङका किसानमा भने कोरोना संक्रमणभन्दा रासायनिक मलको चिन्ता बढी देखिएको छ।
कोरोना भाइरसको जोखिम भए पनि सयौं किसान युरिया मल लिन तछाड मछाड गर्दै उर्लिएका छन्। कसैलाई कोरोनाको डर छैन, ज्यान जोखिममा राखेर भए पनि १५ किलो मल लिने हतारो उनीहरुलाई परेको छ। मल लिने लाइन लाग्दा लाग्दै चर्को घामका कारण बेहोस हुनुपर्ने अवस्था आएको छ।
शुक्रबार नीलकण्ठ ४ को रायटार डिपोमा लाइन बसेकी नीलकण्ठ ४ कै एक महिला बिहान ११ बजेतिर लाइनमा बेहोस भइन्। उनलाई सँगै रहेका साथीले उपचार गराए। लामो समयपछि गत शुक्रबार र शनिबार मल आउने सुचना पाएका किसान बिहान ५ बजेदेखि मल पाइने आशामा सहकारी र डिपोमा लाइन लागेका थिए। बिहानैदेखि चर्को घाममा भोक भोकै लाइन बस्नुपरेको र कमजोरी भएकाले गर्दा लाइनमै बेहोस भएको नीलकण्ठ ४ का सुन्दर गुरुङले बताए।
गएको जेठ महिनादेखि धादिङवेशीमा युरिया मलको अभाव छ। मकैमा मल हाल्ने बेलामा पनि सहज नपाएको किसानले त्यतिबेला पनि ५-१० किलो मल किन्नको लागि धेरै दिन सदरमुकाम धाउनु परेको थियो।
अहिले पनि गएको असार साउनमा रोपाइ गरिएको खेतमा मल हाल्ने बेला भएको र सहज रुपमा नपाएकाले मल उपलब्ध भएको दिन एकैपटक सयौं किसान मल लिन थुप्रिएको किसानले बताएका छन्। नीलकण्ठ ८ का रोशनकुमालले भने, ‘खेतमा मल हाल्न पाइएन भने उत्पादन नै हुँदैन, चाहिएको बेलामा कहिल्यै पनि सहज छैन, आएको बेलाला यसरी तछाड मछाड गरिएन भने खानै नपाएर मरिने होला, अहिलेलाई के को कोरोना न सोरोना।’
शुक्रबार देखिएको भीड शनिबार पनि उस्तै थियो। बढ्दो कोरोना संक्रमणको डरले जिल्लामा निशेधाज्ञा जारी गरिएको छ। तर मल पाउने आशाले शनिबार एकाबिहानै हातमा नाम्लो र बोरा बोकेर सदरमुकामस्थित नीलकण्ठ सहकारी कार्यालय भवन परिसरमा खचाखच भए। शुक्रबार सदरमुकाम बाहिरका केही सहकारीले डिपोमार्फत बजारमै मल वितरण गरे। शनिबार नीलकण्ठ सहकारीको डिपोबाट मल वितरण गरिएको थियो।
मल नपाउने चिन्तामा एकाबिहानै सहकारीमा आइपुगेका किसानलाई सामाजिक दूरी, मास्क लगाउनुभन्दा पनि मलकै चिन्ताले सताएको थियो। किसानहरुको भीड बढ्दै गएपछि उनीहरुले मल सकिन्छ कि भन्ने चिन्ताले सहकारीको फलामे गेटसमेत फोडेर भित्रै पसेका थिए। नीलकण्ठ १२ कि सावित्री लंसालले भनिन्, ‘ज्यान जोखिमा पर्छ रोग लाग्न सक्छ भन्ने त थाहा छ नि तर समस्याले रोग र भोक भन्दो रहेनछ, अहिले मल हाल्न पाइएन उत्पादन कम हुन्छ र हिउँदमा किनेर खानुपर्छ।’
एक बोरा मल ३ जना किसानलाई बाड्दासमेत ४ सय २० बोरा मलले माग नपुगेपछि २ सयभन्दा बढी कृषकहरु रित्तो हात फर्कनुपरेको नीलकण्ठ सहकारीका व्यवस्थापक हरि रिजालले बताए। रासायनिक मल आयो रे भन्ने सुनेका किसानले रोग र भोक नभनी मल पाउनेमा ढुक्क हुँदै सदरमुकाम झरेका केही किसानहरु निराश हुँदै घर फर्किन बाध्य भएका थिए।
प्रतिक्रिया