भक्तपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७७, आईतवार १२:१४

भक्तपुर । कोरोना भाइरस संक्रमण भएर घरमै बसी उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिका १ दूधपाटी निवासी ६५ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको हो । यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । भक्तपुर नपाका भने यो दोस्रो मृत्यु हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले उनी मधुमेह र उच्च रक्तचापका बिरामी रहेको बताए । मधुमेह र उच्च रक्तचापले च्यापेर श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार अस्पताल लगिएको उनको भनाइ थियो ।

‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोही दिन उनको स्वाब परीक्षण गरिएको थियो,’ प्रमुख मिजारले भने, ‘शुक्रबार प्राप्त रिपोर्टमा पोजिटिभ देखियो ।’ शुक्रबार रिपोर्ट पोजिटिभ आएपछि घरपरिवारको सल्लाहमा उनलाई होम आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।

मृतक पुरुष पेसाले सुन व्यवसायी रहेका छन् । उनको निधनपछि घरपरिवारका सदस्यहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको प्रमुख मिजारले जानकारी दिए । त्यस्तै भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणको टोलीले मृतकको शव व्यवस्थापनको लागि काठमाडौंको पशुपतिस्थित विद्युतीय शव दाहगृह लगिएको छ ।

भक्तपुरको मध्यपुर थिमि नपा ७ नगदेशकी ६२ वर्षीया महिलाको शुक्रबार राती उपचारकै क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो । यसअघि भक्तपुर नपा ३ मंगलाछेंका ८२ वर्षीय पुरुष र मध्यपुर थिमि नपा ३ गट्ठाघर निवासी ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । उनीहरु दुवैको मृत्युपछिको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पुरुषको मृत्यु भक्तपुर अस्पताल र महिलाको नागरिक अस्पतालमा भएको थियो ।

त्यस्तै सूर्यविनायक नपाका दुई महिला र एक पुरुष गरी ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । सूर्यविनायक नपा ८ का ७३ वर्षीय संक्रमित पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

शनिबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । जसमध्ये ७४ जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१