काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनका केही बुँदामा असहमति जनाएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यदलको सुझावको केही बुँदामा असहमति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजिएको, महाधिवेशनसम्म सेरेमोनियल भूमिकामा राख्ने र सरकारको समिक्षा गर्ने भन्ने विषयमा उल्लेख भएका बुँदा असन्तुष्टि जनाएका नेकपाका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
प्रचण्डसँगको भेटमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘कार्यदलको प्रतिवेदनमा अझै छलफल गरौँ, यो सुझावमात्रै हो । बाध्यकारी छैन । थप परिमार्जन गरेर अगाडि बढौँ । यहाँ आएका केही विषय मिलाउनु पर्नेछ । सचिवालय बैठकमा थप छलफल गरेर अगाडि बढौँ ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीमा आफ्नो अधिकार क्षेत्र खुम्चाइएको, राजनीतिक नियुक्तिमा सरकारलाई अंकुश लगाइएको र प्रतिवेदनमा सरकारको समिक्षा गर्न केन्द्रीय कमिटी बैठक बस्नेलगायतका विषयमा प्रचण्डसँग असन्तुष्टि जनाए ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । आफू निकट नेताहरुसँग परामर्श गर्दै नेपालले कार्यदलले मंसिर ४ गतेकै सहमतिलाई यताउता पारेको टिप्पणी गरे ।
आफू निकट नेतासँग वरिष्ठ नेता नेपालले भने, ‘यो मंसिरकै सहमतिलाई यताउती पारेर ल्याइएको हो । मुख्य विषयलाई सम्बोधन गरिएको छैन । यसले पार्टीमा देखिएको समस्या समाधान होइन, थप बल्झाएर जान्छ । पार्टीको विधि, प्रक्रिया र पद्दतीलाई नमान्ने कुरालाई सम्बोधन गर्दैन । यो विषयमा सचिवालयमा छलफल हुन्छ ।’
महासचिव पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली-प्रचण्डलाई सुझाव प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा शनिबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया