अध्यक्षद्वय ओली-प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७७, मंगलवार ०६:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको भेटवार्ता ११ बज्नै लाग्दा स्थगित भएको हो । नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन हिजो अध्ययन गरेका ओली प्रचण्डले आजदेखि एजेण्डागत छलफल सुरु गर्ने तयारी थियो ।

तर, प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको भन्दै भोलिका लागि भेटवार्ता गर्ने भन्दै प्रचण्डलाई फोन गरेका छन् । बालुवाटार हिँड्नै लागेका प्रचण्ड निवासमै रोकिए ।

साउन ३० गते अध्यक्षद्वयले महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । हिजो प्रतिवेदन अध्ययन गरेका ओली प्रचण्डले भोलि हुने भेटवार्तामा आवश्यक परिमार्जनलगायतका विषयमा छलफल गर्नेछन् ।

अध्यक्षद्वयको छलफल निष्कर्षमा पुगेपछि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । सचिवालय बैठकमा छलफल गरेपछि प्रतिवेदन पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । कार्यदलको सुझाव अनुसार पहिलो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गरेका छन् ।

महासचिव पौडेलको संयोजकत्वको ६ सदस्यीय नेकपा कार्यदलले चैतमा महाधिवेशन गर्नेगरी आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । कार्यदलले अध्यक्षद्वयबीच यसअघि भएको सहमति अनुसार नै प्रतिवेदन तयार गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१