काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेर बहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको दावी गरेका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाई छ । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे ।
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशिल सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टिसमेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको कोइरालाको गुनासो छ ।
पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए । महाधिवेशनका लागि पार्टीमा गुट–उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाको भनाई छ ।
आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी कोइरालाले गरे । तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले बताए ।
कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको पनि कोइरालाले बताए ।
सरकारले पटक पटक संविधान र ऐन कानुन विपरित काम गरिरहेको आरोप लगाउँदै कोइरालाले देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको आरोप लगाए । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सको आवश्यकता रहेको उनको भनाई छ ।
प्रतिक्रिया