इसुवाखोला हाइड्रोपावरद्वारा पीडितलाई थप नौ करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ श्रावण २०७७, शनिबार ०५:१५

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजना पीडितलाई रु नौ करोड थप गरेको छ । हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडौँ रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति जनाएका थिए ।

मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केविएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी रु तीन लाखका दरले थप गर्ने भएको वडाध्यक्ष वाङ्दीछिरिङ शेर्पाले जानकारी दिए । आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी रु दुई लाख मुआब्जा दिएर आठदेखि १० लाख मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयवासीले विरोध जनाएका थिए । आयोजनाले स्थानीयवासीलाई पाखोबारीको प्रतिरोपनी रु एक लाख ५० हजार र बारीको प्रतिरोपनी रु दुई लाख मुआब्जा दिएको थियो ।

इसुवा हाइड्रोपावर कम्पनी, स्थानीयवासी र मकालु–१ का वडाध्यक्ष शेर्पासहित बसेको बैठकले प्रतिरोपनी रु तीन लाख रकम थप गर्ने सहमति भएको हो । गत पुस १३ गते भएको सहमतिबाट प्रतिरोपनी रु तीन लाख थप गर्ने सहमति भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । कम्पनीले स्थानीयवासीका जग्गा प्रतिआना रु एक लाखमा खरिद गरेको तर नक्कली कागजात बनाएर ३७ लाखसम्ममा खरिद गरेको देखाएर कम्पनीका नाममा करोडौँको मूल्याङ्कन गरेको प्रमाण भेटिएको थियो ।

प्रतिरोपनी थप गरेको रु तीन लाखबाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा प्रयोग हुने अन्य जग्गाबापत प्रतिरोपनी रु एक लाख थप गर्ने र यसअघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको पाँच प्रतिशत रकमसमेत फिर्ता गर्ने सहमति भएको पीडित कुसाङदोर्ची शेर्पाले बताए । आयोजनाले पीडितलाई बैक खातामार्फत रकम भुक्तानी दिइने सहमतिमा उल्लेख छ । हाइड्रोपावर आयोजनाले करिब २ सय ५२ रोपनी जग्गा खरिद गरेको थियो । मकालु–१ मा ९७.२ मेघावाट क्षमताको विद्युत् उत्पादन गर्न इसुवाखोला हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवर्ल्ड हाइड्रोपावरले निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१