जग्गामा महिलाको स्वामित्व बढ्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७७, आईतवार ०५:२६

बैतडी । पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ ।

आफूसँग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै गएका छन् । महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिए ।

जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६÷७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेकोे थियो ।

महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताए । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ । यसले महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको सङ्ख्या बढ्दै गएका हो ।

महिलाका नाममा जग्गादर्ता २५ प्रतिशत राजश्व छुट हुने भएकाले पनि महिलाका नाममा जमीन दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो । पहिलापहिला महिलाका नाममा लालपुर्जा आनाकानी गर्ने गरिएको भए पनि पछिल्लो समय महिलाका नाममा लालपुर्जा बनाउने क्रम बढेको छ ।

महिलाका नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताइन् ।

विसं २०६७ मा भूमिअधिकार मञ्चमार्फत संयुक्त लालपुर्जाको अवधारणा अघि सारेर महिलाका नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ । महिलाका नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पुर्‍याउन सजिलो भएको छ ।

पछिल्ला केही वर्षयतादेखि भने महिलाका नाममा जग्गादर्ता गर्ने लगायतका कामहरु भइरहेका छन् । यसले महिलाको सम्पत्तिमा पहुँच पुर्‍याउन लागि पहल गरिरहेको बैतडीकोे दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

महिलाका नाममा जमीन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो । ‘पहिलापहिला महिलाका नाममा जग्गादर्ता गर्ने चलन नै थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ, उनले भनिन्, ‘महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पुर्‍याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।’

महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न थालेका छन् । पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधि आएपछि महिलाको पनि जग्गामा स्वामित्व बढ्दै गएको हो । महिलाको अधिकारका कुरा उठाउन थालेपछि जग्गामा पनि अधिकार बढ्दै गएको महिला जनप्रतिनिधिहरुको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१