पर्वतका स्कुले विद्यार्थीले बनाए जहाज र डोजर, गाउँले आश्चर्यचकित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७१, मंगलवार ०५:५९
काठमाडौँ,    ३१ भाद्र  । पर्वतको दुर्गम गाउँमा रहेको महेन्द्रोदय माविका एक विद्यार्थीले काठको प्रयोगबाट विभिन्न खालका विज्ञानका सामाग्रीहरु निर्माण गरेका छन् । भर्खरैमात्र सोही विद्यालयबाट एसएलसी पास गरेका भोक्सिङ्ग– ५ का विद्यार्थी राजन गुरुङ्गले यस्ता उपकरणहरु तयार गरेपछि गाउँलेहरु समेत आश्चर्यमा परेकाछन् ।
विद्यालयले विज्ञान विषयको प्रयोगात्मक परिक्षाका लागि केही सामाग्री तयार गर्न दिएका राजनलाई एकाएक विभिन्न नयाँ नयाँ उपकरण तयार गरेपछि शिक्षकहरु समेत अचम्मित बनेका हुन् । १७ वर्षिय गुरुङ्गले स्थानीयस्तरमा पाईने विभिन्न सामाग्रीका साथै पुराना रेडियो, टेलिभिजन तथा लाईटका सामाग्रीहरु प्रयोग गरेर यस्ता उपकरणहरु तयार गरेका छन् ।
गुरुङ्गले डोजर, क्रेन, हाईड्रोलिक मेशिन, विद्युत घण्टी, बिना ईन्धन मोटरबाट चल्ने बत्ती, पानी जहाज, टेवल फेन तथा विभिन्न रोबोट लगायतका सामानहरु तयार गरेकाछन् । विगतका वर्षहरुमा घरमै काठबाट बिभिन्न सामान तयार गरेका गुरुङ्गले यसवर्ष बनाएका सामान देखेर परिवार समेत दंग परेकाछन् ।
घरमा बसेर केही केही सामान तयार गरिरहन्थ्यो राजनका बाबु किसान गुरुङ्गले भन्नुभयो–अहिलेको काम देखेर छोराले केही गर्छकी भन्ने लागेको छ । भर्खरैमात्र पुरक परिक्षामा एसएलसी पास गरेका गुरुङ्गको प्राविधिक शिक्षा पढ्न धोको भएको बताएका छन् । ‘म प्राविधिक विषय पढेर यो ज्ञानलाई अगाडी बढाउने सोच बनाएको छु ।,’ उनले भने– ‘तर घरको आर्थिक अवस्था नभएकाले पढाई अगाडी बढाउने समस्या भएको छ ।’
घरायसी आर्थिक अभावका कारण राम्रो पढाई नहुँदा एसएलसीमा पुरकमा परेको र कसैले सहयोग गरिदिएमा ईञ्जिनियरिङ्ग विषय पढ्ने उनले बताए । राजनका बाबु किसान गाउँमै काठको काम गर्दै आउनुभएको छ । क्यान्सर रोगबाट पिडीत श्रीमति, ५ छोरी र १ छोरा सहित ८ जनाको परिवारमा राम्रो शिक्षा दिन तथा राम्रो ठाउँमा पढाउन नसक्दा छोराको प्रतिभा त्यसै गुमेर जान्छ की भन्ने पीर परेको बाबुको भनाई छ ।
गुरुङ्गले तयार गरेका सामाग्रीहरु देखेर नाम्डा नामक एक गैर सरकारी संस्थाले समेत सहयोग गरेको छ । उनलाई पढ्न सहयोग पु¥याउने उद्देश्यले नाम्डाका साथै स्थानीय समाजसेवीहरुको सहयोग र विद्यालयले गरि कुल ५५ हजार रुपीयाँको राजन गुरुङ्ग अध्यायन सहयोग कोष स्थापना गरिएको विद्यालयले जनाएको छ । उनको प्रतिभा देखेर हामीले अभियान चलाएका हौं विद्यालयका विज्ञान शिक्षक शिब प्रसाद ढकालले बताउनुभयो ।
राजनको प्रतिभालाई राष्ट्रले समेत सम्मान गरेर उनलाई पढ्ने वातावरण समेत मिलाउनुपर्नेमा स्थानीय भद्र भलाद्मीको समेत जोड रहेको छ । यस्तो प्रतिभालाई राज्यले सम्मान गर्नुपर्छ स्थानीय रुद्र बहादुर केसीले भन्नुभयो–प्रतिभा हराएर गएमा राज्यले समेत घाटा बेहोर्नुपर्ने छ । गुरुङ्गले अहिले जहाज बनाउने तयारी गरिरहेकाछन् । २ पटक त बनाई सकेँ उनले भने–भनेजस्तो सामान नपाउँदा केही समस्या भयो उनले भने । काठैकाठबाट तयार गरेकाले केही समस्या आएको र अव अन्य प्रविधि प्रयोग गरेर तयार गरिरहेको उनको भनाई छ । गुरुङ्गले आफ्नो काममा कसैले सहयोग गरिदिएमा त्यसबाट विभिन्न उपकरण तयार गर्नसक्ने बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१