माइतीघर सडकमा सुतेर विरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७७, आईतवार ०५:२७

काठमाडाैं । साझा पार्टीले सर्वाेच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको सो पार्टीले जनाएको छ ।

फैसलाको विरुद्धमा साझा पार्टीका पदाधिकारीले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर आज विरोध जनाए । कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायतका वक्ताले आम नागरिकको आशा र भरोसा गरेको न्यायलयबाट भएको पछिल्लो फैसला त्रुटिपूर्ण रहेकाले सच्याउन सुझाव दिए ।

सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वाेच्च अदालतले उल्टाएर दण्ड सजाय घटाएको थियो । न्यायको मन्दिरका रूपमा रहेको सर्वाेच्च अदालतबाट किन यस्तो फैसला भयो, विभिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको छ । महान्यायाधीवक्ता कार्यालयले उक्त निर्णय पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

उक्त फैसलाबाट समाजमा न्याय मरेको जनाउँदै साझा पार्टीका समर्थकले सडकमा सुतेर विरोध जनाएका हुन् । नेपाली झण्डा र पार्टीको चुनाव चिह्नको ब्यानर बोकेका साझाका समर्थकले त्रुटिपूर्ण फैसला रद्द गर्न, पीडितलाई न्याय दिन तथा गैरन्यायिक फैसला खारेज गर्न माग गरिएको प्लेकार्ड प्रर्दशन गरेका थिए । उक्त पार्टीले न्यायका लागि साझा यात्रा नाम दिएर उक्त विरोधको अभियान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१