काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रचण्डले कुनै सम्झौता गरेको आशंका गर्यो । त्यो आशंका मेट्नका लागि प्रचण्डले आइतबार बिहान वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसहित उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई बोलाए ।
उपाध्यक्ष गौतमले बिहान खुमलटार पुगेर प्रचण्डसँग छलफल गरे भने बादलको पूर्वनिर्धारित कार्यक्रममा सहभागी भए । पूर्वनिर्धारित कार्यक्रमकै कारण बादल खुमलटार पुग्न सकेनन् । तर, खनाल, नेपाल र श्रेष्ठ एकसाथ प्रचण्ड निवास पुगे । उनीहरुसँग छलफल गर्दैगर्दा स्थायी कमिटीका केही सदस्यहरु पनि खुमलटार पुगेका थिए ।
शीर्ष नेताहरुको छलफल चलिरहेका समयमा नेकपा स्थायी कमिटी सदस्यहर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुषाल, रघुजी पन्त, भीम आचार्य, वर्षमान पुन, पम्फा भुसाल, मातृका यादवलगायतका नेताहरु खुमलटार पुगे ।
छलफलका क्रममा आफूलाई परिबन्धमा पारेर शीतल निवास लगिएको प्रचण्डले सविस्तार सुनाए । सचिवालय र स्थायी कमिटीका सदस्यहरुले ओलीसँग सहमतिको सम्भावना, मंसिरको महाधिवेशन, राष्ट्रपतिसँग एकाएक भएको भेटवार्तामा जिज्ञासा राखेका थिए ।
छलफलका क्रममा प्रचण्डले ओलीले आफूलाई परिबन्धमा पारेर शीतल निवास लगेको सुनाए । उनले भने, ‘बैठक सकिनै लाग्दा महासचिवले प्रधानमन्त्रीजीले भेट्न खोज्नु भयो भनेर एसएमएस गर्नुभयो । म प्रधानमन्त्री निवासतिर लागे । त्यहाँबाट खुमलटार फर्किन खोजेको थिए । त्यहीँ समयमा ओलीजीको फोन आयो ‘म शीतल निवास आइसके, तपाईँ पनि आउनुहोस् राष्ट्रपति ज्यूले छलफल गर्न खोज्नु भएको छ’ भन्नुभयो । त्यसपछि बाध्य भएर त्यहाँ गएँ । त्यहाँ महासचिव र प्रभाकरजी पनि हुनुहुँदो रहेछ । प्रभाकरजीले पनि मलाई भन्नु भएन । मलाई यसरी परिबन्धमा पारेर लगियो ।’
प्रचण्ड पुग्दा शीतल निवासमा राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ र शंकर पोखरेल पनि छलफलमा जुटेका थिए । छलफलमा सहभागी भएसँगै विभिन्न आशंका उत्पन्न भएको प्रचण्डले बताए । उनले भने, ‘त्यहाँबाट बाहिर नआउँदै सहमति भयो भनेर विभिन्न कोणबाट समाचार आएको रहेछ । त्यसपछि मैले राति नै कुनै सहमति नभएको भनेर खण्डन गर्न भनेँ । त्यहीँ कुरा जानकारी गराउनका लागि तपाईँहरुलाई फोन गरेको थिए ।’
स्थायी कमिटी सदस्य शर्माको अस्वभाविक व्यवहारका विषयमा पनि प्रचण्ड असन्तुष्ट छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘प्रभाकरजीको अनावश्यक महत्वकांक्षाले गर्दा अध्यक्षलाई शीतल निवास पुर्यायो । उहाँमा गृहमन्त्री हुने भूत चढेको छ । पार्टी एकताको सुत्रधार भन्दै फाइदा लिनेगरी अहिले पनि उहाँहरुले चलखेल गर्नु भएकोछ । यो राम्रो होइन । उहाँमा गृहमन्त्रीको भूत चढेकाले समस्या निम्तियो ।’
प्रचण्डले योजनावद्ध रुपमा शीतल निवास लगिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले भने, यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो, मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ । अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ, कुनै पनि भरपर्दो छैन, विश्वसनीय छैन।’
एक सचिवालय सदस्यका अनुसार महासचिव पौडेल र शर्माले पार्टी एकताको सुत्रधारलाई उचित स्थान नदिँदा समस्या भएको भन्दै एकजनाले अर्थमन्त्री र अर्काले गृहमन्त्री बन्ने सपना देखेका छन् । उनले भने, ‘उहाँहरु दुवैजनामध्ये पौडेल अर्थमन्त्री र शर्मा गृहमन्त्री बन्ने योजनामा हुनुहुन्छ । यतापट्टिबाट सहमतिको मस्यौदा भन्दै शर्मा आफैँ हिँडेका छन् । प्रचण्डले नभने पनि उनी अध्यक्षकोतर्फबाट भन्दै वार्ता गर्दै हिँडेका छन् ।’
प्रतिक्रिया