असार मसान्तमा खर्चको आकार बढी देखियो : अर्थमन्त्री खतिवडा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७७, शुक्रबार ०५:४३

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित भएका अर्थमन्त्री खतिवडाले भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताएका हुन् ।

उनले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको मन्त्री खतिवडाको दावी छ । उनले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिएको बताए । उनले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गरेको जानकारी गराए । अर्थमन्त्री खतिवडाले असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पष्ट पारे ।

राजस्व पनि असार मसान्तमा धेरै उठ्ने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताए । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पुर्याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाइ र ढिलाइ हुने गरेको बताए ।

बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माणलगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले परिसूचकहरुमा मात्रै छलफल गर्न आफू तयार रहेको बताए । उनले जनताले अपेक्षा गरेका सबै कुरा पूरा नभए पनि धेरै विषयहरु पूरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१