काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार झण्डै तीनघन्टा भेटवार्ता भएको छ । एजेण्डागत छलफलमा तीन घन्टासम्म वार्ता भए पनि निकास भने निस्किएन । भोलि फेरि भेटवार्ता गर्नेगरी दुवै अध्यक्षले आजको छलफल सके ।
भेटवार्ताको समयमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि केही समयसम्म सहभागी थिए । झण्डै तीनघन्टासम्म भएको छलफलमा विगतको सहमति कार्यान्वयन, स्थायी कमिटी बैठकमा उठेको दुवै पदको राजीनामा, नयाँ सहमतिलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
एक सचिवालय सदस्यका अनुसार आजको छलफलमा प्रचण्डले प्रधानमन्त्रीमात्रै वा अध्यक्षमात्रै बन्नका लागि ओलीलाई आग्रह गरेका थिए । प्रचण्डले भने, ‘पार्टी एकताको भावना, सबै पक्षको असन्तुष्टिको सम्बोधनका लागि पनि अब तपाईँले कुनै एक पदमात्र लिनुस् । पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एकमा सम्झौता गरौँ । आम कार्यकर्ताको पनि चाहना पार्टी एकतावद्ध हुनुपर्छ भन्नेमै छ । त्यसैले तपाईँले पनि लचकता अप्नाउनुस् ।’
प्रचण्डको आग्रहलाई ओलीले अस्वीकार गरे । उनले भने, ‘अहिले मैले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै पनि पद छाड्दिन । तपाईँहरु अगाडि बढ्नुस् । म पनि बढौँला । पार्टी अध्यक्ष हुने भए छिटो महाधिवेशन गरौँ । होइन भने तपाईँहरुले के गर्ने गर्नुस् । मैले के गर्ने गर्छु । दुवै पदबाट अहिले हट्ने कुरा आउँदैन ।’
ओलीको अडान सुनेपछि प्रचण्डले स्थायी कमिटी बैठक पार्टी एकता बचाउनकै लागि रोकिएको स्मरण गराए । उनले भने, ‘तपाईँले त पार्टी फुटाइसक्नु भएको थियो । मैले कम्परमाइज गरेर यहाँसम्म आएको हुँ । सुरुवाती सम्झौतादेखि यहाँसम्म आइपुग्दा मेरो ठाउँमा बसेर हेर्नुस् । मेरो ठाउँमा तपाईँ भएको भए के के गर्नुहुन्थ्यो ? तपाईँमा व्यक्तिवादी सोच आयो । विधिमा चल्नुपर्छ । व्यक्तिमा होइन । यो समयमा कसरी महाधिवेशन हुन्छ ?’
प्रचण्डले लामो कुरा गरेपछि ओलीले मंसिर ४ लाई नयाँ व्याख्या गरेर जाने कुरा गरेका थिए । उनले भने, ‘अहिलेलाई मंसिर ४ लाई आधार मानेर अगाडि बढौँ । छिट्टै महाधिवेशन गरौँ । त्यसपछि तपाईँ अध्यक्ष हुनुहोला । थप छलफल गरौँ । पौडेल र शर्मालाई देखाउँदै उहाँहरुले पनि थप छलफल गर्नुहुन्छ । होइन भने मेरो बाटो मसँगै छ ।’
ओलीको कुरा सुनेपछि प्रचण्डले भने, ‘पार्टी एकताविरोधी अभिव्यक्ति दिन छाड्नुस् । मिलेर जानुपर्छ । एक पद जिम्मेवारी लिँदा राम्रो काम पनि हुन्छ । भोलि मैले माधव कमरेडलाई पनि लिएर आउँछु । तीनजना बसौँ । छलफल गरौँ । आम जनता र कार्यकर्ताको भावनाविपरित पार्टी एकताबाट भाग्न पाउनु हुन्न ।’
आजको बैठकमा पनि फेरि विगतको अडान नै दोहोरिएपछि दुवै अध्यक्ष भोलि भेट्नेगरी छुट्टिए । भोलि ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता हुने भएको छ ।
प्रतिक्रिया