काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको दूरी थप बढेको छ । बुधबारको भेटवार्तामा ओलीले आफूलाई अपमान गरेको भन्दै प्रचण्ड पार्टी कार्यक्रम तथा प्राकृतिक प्रकोप नियन्त्रणका लागि भइरहेको कामको अनुगमन गर्न जिल्लातर्फ लागेका छन् ।
पार्टीमा कुनै निर्णय लिनुपर्ने अवस्थामा केहीदिन काठमाडौं बाहिर जाने र फर्किएपछि कुनै एक ठोस निर्णय गर्ने स्वभावका प्रचण्ड दुईदिनपछि मात्र काठमाडौं फर्किने छन् । प्रचण्ड प्राकृतिक प्रकोपको अवस्था बुझ्न र जनतालाई सहयोग गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिन उनी जिल्ला हिँडेका स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं भएपनि पार्टीमा देखिएको विवाद समाधानमा क्रियाशील छैनन् । उनले आफू निकट नेताहरुसँग मात्र छलफल गरिरहेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसँग संवाद गर्न उनी अनिच्छुक रहेका स्रोतले जनाएको छ ।
बुधबारको छलफलका क्रममा ओलीले विगतको सहमति पालना नहुने भन्दै कारबाही गरेर देखाउन चुनौती दिएका थिए । ओलीले सडकमा आफ्नो पक्षमा भइरहेको प्रदर्शन पनि नरोकिने बताएका थिए । त्यसै अनुसार हिजो दिउँसो काठमाडौंमा पानीमा भिजेरै भए पनि ओलीको पक्षमा प्रदर्शन भएको थियो ।
सिंहदरबारमा बिहीबार कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा ११ जना स्थायी कमिटीका सदस्यले प्रदर्शन रोक्ने र बैठक स्थगित गरेर वार्ता गर्न पहल गरेको थियो । प्रदर्शन रोक्ने कुरालाई ओलीले अस्वीकार गरेका छन् । ११ जनामा ओली निकट नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायत पनि थिए ।
प्रचण्डले बुधबारको संवादको क्रममा प्रधानमन्त्री ओली पार्टी एकताको पक्षमा नभएको प्रष्ट भएकाले संवाद गर्नुको कुनै औचित्य नभएको आफू निकटसँग बताएका छन् । बुधबारदेखि दोस्रो तहका नेताहरुसँग छलफल भए पनि ओली र प्रचण्डबीच फोन संवाद पनि हुन सकेको छैन ।
प्राकृतिक विपत्तिमा परेकाको उद्दार, राहत तथा सतर्कताका लागि भन्दै पार्टीको स्थायी कमिटी बैठक एकहप्ताका लागि स्थगित गरे पनि नेताहरुबीच योबीचमा संवाद र सहमति हुने सम्भावना कम हुँदै गएको एक सचिवालय सदस्यले बताएका छन् ।
प्रतिक्रिया