काठमाडौँ | कुनैपनि लक्षणविहीन, भिसा लगाउन र निरोगिताको प्रमाणपत्र चाहिने व्यक्तिले स्वेच्छाले शुल्क तिरेर कोरोना परीक्षण गर्न सक्नेछन् । जसको लागि निस्चित शुल्क तोकिएको छ ।
शुल्क तिरेर कोरोना भाइरस परीक्षण गराउन सकिने भएपछि साढे तीन सय बढी व्यक्तिले पिसिआर विधिबाट परीक्षण समेत गराएका छन् । यसरी परिक्षण गराउन सकिने तीन अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेको लागि उपत्यकाका वीर, टिचिङ र पाटन अस्पतालमा परीक्षण गराउन सकिने जनाएको छ । यी तीन अस्पतालबाट शुल्क तिरेर परीक्षण गर्न सकिन्छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणविहीन, भिसा र निरोगिताको प्रमाणपत्र चाहिएको व्यक्तिले स्वेच्छाले यी तीन अस्पतालबाट शुल्क तिरेर परीक्षण गर्न सकिने जनाए।
मन्त्रालयले यसको लागि परीक्षण शुल्क ५ हजार ५ सय तोकेको छ । बुधबारसम्ममा टिचिङ अस्पतालमा झन्डै २ सय ५० व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन् । यसरी परीक्षण गराउनेमा अधिकांश विदेशबाट आएका व्यक्ति रहेका छन् । त्यस्तै वीर अस्पतालमा शुल्क तिरेर एक सयभन्दा बढीले कोरोना परीक्षण गराएका छन् ।
स्वास्थ्य मन्त्रालयको निर्देशिकामा लक्षणविहीन व्यक्तिहरूको पिसिआर परीक्षण गर्नु नपर्ने उल्लेख छ । जसको कारण स्वस्थ रहेकाहरुले कोरोना परीक्षण गराउन चाहेको खण्डमा भने शुल्क तिरेर आफ्नो स्वास्थ्य जाँच गराउन सक्छन् ।
प्रतिक्रिया