पाल्पा पहिरो : तीनजनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७७, मंगलवार ०५:२१

पाल्पा । पाल्पाको सम्मोबारीमा पहिरोले दुई गाडीलाइ बगाउँदा तीनजनाको मृत्यु भएको छ। पाल्पा–गुल्मी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका वडा नं ११ बन्दीपोखरास्थित सम्मोबारीमा सडकमाथिबाट आएको पहिरोले दुईवटा गाडी बगाएको हो।

दिनभरको अविरल वर्षासँगै आएको पहिरोले बगाउँदा गाडीमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

२ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एकजनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन। मृतक तीनैजना पुरुष हुन्।

उनीहरूको शव क्षतविक्षत अवस्थामा फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । दुईजनाको शव जिल्ला अस्पताल पाल्पाको शवगृहमा राखिएको छ।

अर्का एकजनाको शव मिसन अस्पतालमा राखिएको छ। लु २ ख १३७६ नम्बरको ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई पहिरोले बगाएको हो।

ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर सडकदेखि तल खोल्सामा टुक्रा टुक्रा अवस्थामा रहेको छ। सडकमा रहेका लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई समेत पहिरोले सामान्य क्षति पुर्‍याएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्धार गरेका थिए। अझै केही मानिस पुरिएको हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको छ।

रातको समय र निरन्तर पानी परिरहेकाले खोजी कार्यमा थप कठिनाई भएको प्रहरीले जनाएको छ । उनका अनुसार थप खोजी कार्य मंगलबार बिहानैदेखि गरिने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१