महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७७, शुक्रबार ०५:११

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आर्थिक तथा रोजगारी, सामाजिक विकास, शहरी पूर्वाधार तथा योजना विकास, वातावरण तथा फोहोर मैला व्यवस्थापन, संस्थागत विकास र सुशासन नीतिलगायतका क्षेत्रलाई समावेश गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रम स्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन र आवागमन व्यवस्थापनलगायतका विषयमा विशेष केन्द्रित रहेको शाक्यले बताए । कोभिड १९ को असरका कारण तीन महिनासम्म लकडाउन हुँदा महानगरवासीमा परेको असरलाई न्युनीकरण गरी जनजीवनलाई पूर्ववतः अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, कोभिड १९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यम उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कृषि, खाद्य तथा पशु नीतिअन्तर्गत शहरी फलफूल खेती, कौशी खेती, माटोबिनाको खेती प्रविधिकको विकास गर्ने र यसलाई समुदाय सहभागी लक्षित हुने नीति लिइएको प्रमुख शाक्यले बताए । यस्तै, साना तथा मझौला व्यवसायलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने, परम्परागत तथा स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

कोभिड १९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङमलहरु, डे÷नाइट मार्केटलगायत अन्य व्यापार व्यवसायमा विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ । आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्र आत्मसात् गर्दै पर्यटन प्रवर्द्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण र संवर्द्धन र विस्तारमा जोड दिने नीति तथा कार्यक्रममा उल्लख गरिएको छ ।

शहरी पूर्वाधारको विकासका लागि निजी तथा समुदायसँग साझेदारी गर्ने, परियोजना बैंक स्थापना गरी नेपाल लगानी बोर्ड, नगर विकास कोषसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, जीवन उपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधारसहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ ।

‘स्वस्थ महानगरः समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै जनस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरको जनस्वास्थ्य नीतिमा परिवर्तन गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपर्दो बनाउने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । महिला, बालबालिका, किशोरकिशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, भहानगरभित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाइने, संस्कृति तथा सम्पदाहरुको सम्बद्र्धन गर्ने, खेलकुदको विकास गर्ने, सामाजिक विकास, सुरक्षा तथा संरक्षण लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेस भएका छन् ।

शहरी पूर्वाधार विकास, शहरी यातायात व्यवस्थापन, शहरी आवागमन, सूचना तथा सञ्चार, शहरी विकास तथा भवन मापदण्ड, फोहोरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्द्धन, जलवायु परिवर्तन अनुकूल नीति, विपद व्यवस्थापन, संस्थागत तथा मानव संशाधन विकास, सुशासन तथा सुरक्षालगायतका क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । राजस्व परिचालन तथा वित्तीय व्यवस्थापन नीतिअन्तर्गत महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइने नीति महानगरपालिकाले लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१