काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।
नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरुबीच सहममति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच दिनको समय दिएको हो । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्षयता यो विधेयक रोकिएको छ ।
समितिमा पुनः सुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने प्रस्ताव पेश भएको थियो । जसमा नेपाली कांग्रेसका सांसदहरुले थप छलफल गर्न समय मागेपछि बैठक बुधबारका लागि सारिएको थियो ।
सांसदहरुबीच सहमति जुट्न नसकेपछि गृहमन्त्री थापाले राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए । समिति सभापति शशी श्रेष्ठले चालु अधिवेशनबाट नै विधेयक पास गर्नका लागि जसरी भए पनि पाँच दिनभित्र सहमति जुटाएर आउन गृहमन्त्री थापालाई समय दिएकी हुन् ।
गृहमन्त्री रामबहादुर थापाले यसै अधिवेशनमा पठाउने गरी राजनीतिक तहमा सहमति जुटाउन समय मागेका थिए । उनले भने, ‘छिटोभन्दा छिटो सकेसम्म यही सत्रभित्र प्रस्तुत गर्ने ढंगले नै गर्ने कुरा हुन्छ । यही सत्रमा ल्याउने हो विधेयकलाई, त्यही नै होला ।’
बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकताको विषयमा उच्च राजनीतिक नेतृत्वबीच नै सहमति आवश्यकता रहेको बताए । उनले अंगीकृत नागरिकतामा संविधनले रोक लगाएका विषयभन्दा माथि गएर फेरि विधेयकले रोक लगाउँदा संवैधानिक प्रश्न उठ्ने भएकाले राजनीतिक सहमति नै आवश्यक रहेको बताए ।
२०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक २०७५ भदौ ५ गतेदेखि समितिमा विचाराधीन छ । समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति जुटाउन नसक्दा विधेयक रोकिएको हो ।
प्रतिक्रिया