संविधान संशोधनको पक्षमा मत नहाल्नेलाई बर्खास्त गर्ने समाजवादी पार्टीको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०७७, बुधबार ०५:१८

काठमाडौं । संविधान संशोधनको विपक्षमा उभिने सरिता गिरीका सम्बन्धमा छलफल बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा मत नहाल्नेलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा बसेको बैठकले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निशानछापमा अध्यावधिक गर्ने प्रस्तावको पक्षमा मत हाल्न आफ्ना सबै सांसदलाई निर्देशन दिएको सांसद मोहम्मद इस्तियाक राइले जानकारी दिए ।

संशोधनको पक्षमा मत नहाल्ने सांसदलाई बर्खास्त गर्ने निर्णय समाजवादी पार्टीले गरेको छ । संविधान सशोधन विधेयकको विरोध गर्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेकी थिइन् ।

संसदीय दलको बैठकमा पनि उनले आफ्नो प्रस्तावमा बचाउ गरेकी छन् । पार्टीको संसदीय दलको बैठकमा भारतीय नागरिकको शैलीमा गिरी प्रस्तुत भएको एक सांसदले जानकारी दिए । गिरीलाई आफ्नो प्रस्ताव फिर्ता लिन संसदीय दल बैठकले निर्देशन दिएको छ ।

आफूले नेपाल भारत सम्बन्ध बलियो पार्नका लागि प्रस्ताव दर्ता गरेकाले फिर्ता नलिने अडान गिरीले राखेकी थिइन । समाजवादीका एक पदाधिकारी भन्छन्, ‘गिरीजी पार्टीको संसदीय दलको बैठकमा भारतीय नागरिककै हैसियतमा आउनु भयो । उहाँले माइती देशको प्रतिनिधित्व गरेको हामीलाई लाग्यो । त्यो नितान्त गलत हो । उहाँको अडानले मधेसका धेरै मागमा नकरात्मक प्रभाव पर्छ ।’

यसअघि नै आफ्नो प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले गिरीलाई निर्देशन दिइसकेको छ । निर्देशन पालना नगरे सांसद पदबाटै हटाउने तयारी समाजवादीले गरेको छ । ती पदाधिकारी भन्छन्, ‘उहाँलाई हामीले संसद बैठकमा पनि फिर्ता लिनसक्नु हुनेछ भनेका छौँ । उहाँले आफ्नो प्रस्ताव फिर्ता लिएर संविधान संशोधनको पक्षमा मत नहालेमा उहाँलाई सांसद पदबाटै हटाइन्छ । पार्टीले उहाँलाई कारबाही गर्छ ।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन हुनेछ । समाजवादी पार्टीकी सांसद गिरीले संविधान संशोधन विधेयकको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् ।

पार्टीको निर्देशन पनि उनले पालना गरेकी छैनन् । समाजवादी पार्टीले संशोधन फिर्ता नलिए गिरीलाई कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो । गिरीलाई सांसद पदबाट हटाउने निर्णय भएमा पार्टीको निर्णय अनुसार निर्वाचन आयोगमा जानकारी दिनुपर्ने र निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई जानकारी गराएपछि उनी सांसद पदबाट निलम्वन हुनेछन् ।

आजको प्रतिनिधि सभा बैठकमा नयाँ नक्सा अध्यावधिक गर्न नेपालको संविधानको अनुसूची ३ परिवर्तन सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची राखिएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१