काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।
कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधानमन्त्री ओलीले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाईसमेत ध्यान दिइएको बताए ।
सरकारले आजदेखि सबै विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ शुरु गराएको छ । प्रधानमन्त्री ओलीले लामो समयसम्म विद्यालय बन्द रहँदा समग्र शैक्षिक सत्र प्रभावित हुने भएकाले बन्दाबन्दीको अवधिमै सूचना प्रविधिका माध्यमबाट पठनपाठनको शुरुआत गरिएसँगै अवको पुस्ता प्रविधिमा अभ्यस्त हुनेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले अवको जनशक्ति सक्षम, स्वस्थ, शिक्षित र योग्य हुनेमा विश्वास व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक सिकाइ सामग्री व्यवस्था गरेको र आगामी दिनमा पाठ्यसामग्रीको विकास, प्रयोग र प्रसार गर्ने काममा निरन्तरता दिइने बताए ।
बन्दाबन्दी खुकुलो पारिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले साना नानीहरुको सिकाइको थलो समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘मुलुक बिग्रँदैछ छ कि ? भनेर युवाहरुले विभिन्न माध्यमबाट राखेको चासोप्रति मेरो ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक आन्दोलनका आधारमा सामाजिक न्यायसहितको संविधान स्थापना र स्थिर सरकार गठन भएकाले अब मुलुकमा कुनै पनि आन्दोलनको आवश्यकता छैन ।
प्रतिक्रिया