किन हटाइए पर्यटन मन्त्री ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार १५:३४

सत्तारुढ नेकपा एमालेले अकस्मात पर्यटनमन्त्री भीमप्रसाद आचार्यलाई मन्त्रीबाट फिर्ता बोलाउन प्रधानमन्त्रीलाई सिफारिस गरेपछि पर्यटन क्षेत्रमा खलबली नै मच्चियो । पार्टीका सचिवसमेत रहेका आचार्यलाई हटाउने चर्चा कतै चलेकै थिएन ।

हाइ प्रोफाइल नेता विभागीय मन्त्री आउँदा सुरुमा पर्यटन व्यवसायी उत्साहित थिए । तर, नेपाल पर्यटन बोर्डविरुद्ध व्यवसायीले मोर्चाबन्दी नै बनाएर आन्दोलन थालेपछि मन्त्री–व्यवसायी सम्बन्ध सुमधुर रहेन ।

मन्त्रीले पर्यटन बोर्ड र निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई काखी च्यापेर व्यवसायीको बेवास्ता गरेको आरोप व्यवसायीको छ । मन्त्री केही पर्यटनको माफिया सञ्जालमा रमाएको, आफ्नो भावनाको कदर नगरेको, मिडियाबाजी गरेको तथा व्यवसायीको आन्दोलनलाई खिल्ली उडाएको एमाले निकट एक व्यवसायीले बताए ।

नेपाल वायुसेवा निगममा शिवशरण न्यौपानेलाई नियुक्त गर्दा पनि मन्त्री आचार्य विवादमा तानिएका थिए । नौपानेको नियुक्तिमा एक करोड रुपैयाँ घूस लिएको आरोप आचार्यलाई लागेको थियो । एमाले पूर्वअध्यक्ष झलनाथ खनालका नातेदार भए पनि पछिल्लो समय आचार्यको खनालसँग सम्बन्ध बिग्रिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्तिमा पनि उनले पार्टीको सिफारिस नमानेको बताइएको छ । पार्टी सिफारिस लत्याउँदै आचार्यले गंगाप्रसाद उप्रेतीलाई उपकुलपति नियुक्त गरेका थिए । यी विभिन्न क्रियाकलाप मन नपराएका खनालको दबाबमा आचार्यलाई फिर्ता बोलाइएको बुझिएको छ ।

आचार्य खनालका बहिनी ज्वाईं हुन् । पछिल्लो समय आचार्यको गतिविधिका कारण खनाल निकै असन्तुष्ट बनेको एमाले उच्च स्रोत बताउँछ । आचार्यले आफ्नो समेत ‘इमेज डाउन’ गराउन खोजेको भन्दै खनाल उनीसँग रुष्ट बनेका थिए । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणका लागि एमाओवादी नेतृत्वको सरकारका बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनियाँ कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि २२ अर्बको नयाँ सम्झौता गरेका थिए । सम्झौतामा करोडौं कमिसनको खेल भएको भन्दै भित्रभित्रै अख्तियारले छानबिन थालेपछि आचार्यका कारण आफूसमेत बदनाम हुन लागेको भन्दै खनाल रिसाएको स्रोत बताउँछ ।

पर्यटनमन्त्री आचार्यलाई फिर्ता बोलाएर एमालेले दीपकचन्द्र अमात्यलाई पर्यटनमन्त्री बनाएको छ । अमात्य सुशीलचन्द्रका छोरा हुन् । अघिल्लो संविधानसभामा उनलाई राजीनामा गराएर माधवकुमार नेपाललाई सभासद बनाइएको थियो ।

पछि अमात्य श्रीलंकाका लागि राजदूत भएका थिए । नवनियुक्त पर्यटनमन्त्री अमात्य बरिष्ठ नेता खनाल निकट मानिन्छन् । २०३८ सालमा पाटन क्याम्पसको उपसभापति हुँदै सभापति भएका अमात्य झलनाथ खनाल २०४७ सालमा कृषि तथा वनमन्त्री हुँदा र ६७ सालमा प्रधानमन्त्री हँुदा प्रमुख स्वकीय सचिव थिए ।

एमालेले उद्योगमन्त्रीबाट कर्णबहादुर थापालाई फिर्ता बोलाएर महेश बस्नेतलाई उद्योगमन्त्री बनाएको छ । दुवै विवादित व्यक्ति हुन् । थापाले रुग्ण उद्योेग सञ्चालन गर्ने भन्दै मन्त्रालयबाट पैसा खाएको, मन्त्रालयकै लेटरप्याडमा आफू, श्रीमतिसहितलाई अमेरिकाको भिसाका लागि मन्त्रालयको लेटर प्याडको दुुरुपयोग गरेको तथा आफ्नालाई नै कुनै वास्ता नगरेको आरोपमा फिर्ता बोलाइएको ओली निकट स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओली निकट बस्नेत युवा संघका अध्यक्ष हुन् । हालै भएको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा पराजित भएका थिए । गत संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका उनी त्यसमा पनि पराजित बनेका थिए ।

स्रोत : पर्यटन न्युज डटकम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१