काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जारी लकडाउन केही खुकोलो बनाउँदै निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधन जोर- बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने जानकारी दिएका हुन् ।
खतिवडाका अनुसार सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ।
यसैगरी मोटरसाइकलमा एकजना मात्र र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने छन् ।
‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने ।
प्रवक्ता खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो।
तत्कालका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
यसैगरी सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । तर सपिङ मल भने खोल्ने निर्णय नभएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ ।
यसैगरी कोभिड–१९ जोखिम कायमै रहेकाले सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) नगरी स्कुलको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने निर्णय गरेको छ ।
प्रतिक्रिया