भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७७, बुधबार ०५:०२

भक्तपुर। भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट आज नेगेटिभ आएको छ ।

सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको थियो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताए ।

मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइएको उनले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिइन ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले आज दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१