आफ्र्नै गाउँमा बस्छन् तर गाउँ नै देखेका छैनन् रे उनीहरुले ,
यस्तो पनि होला त ?
हुन त त्यहि गाउँमा बस्छन्, काम गर्छन् र जीवन निर्वाह गरिरहेका छन् उनीहरुले । तर वर्षौं भईसक्यो आफ्नो गाउँ एकपटक धक फुकाएर हेर्न पाएका छैनन् । धेरैलाई भनिसके, अनि आश्वासन पनि पाए तर खोई किन हो उनीहरुको वास्तविक आवाज सुन्ने यतिखेर सम्म कोहि पनि भेटिएका छैनन् ।
आजभन्दा करिव १४ वर्ष अगाडि नेपाल टेलिभिजनबाट धाराबाहिकरुपमा प्रशारित चर्चित टेलिचलचित्र अविरल बग्दछ इन्द्रावती निर्माण गरिएको काभे्रको चण्डेनीमण्डन र सिन्धुपाल्चोकको भिमटार गाविसका माझि समुदायले अहिले सम्म त्यो टेलिचलचित्रलाई मन फुकाएर हेर्न पाएका छैनन् । साहित्यकार स्व.रमेश विकलले २०४० सालतिर काभे्रको चण्डेनीमण्डन तथा सिन्धुपाल्चोक जिल्लाको भिमटारका माझि समुदायको वास्तविक कथालाई उतारेर अविरल बग्दछ इन्द्रावती नामको उपन्यास लेखेका थिए । ०५७ सालमा यहि उपन्यासको कथालाई आधार बनाएर सो टेलिचलचित्र बनाईएको थियो । यसको सम्पुर्ण छायांकन पनि यहि माझिगाउँ तथा इन्द्रावती नदी किनारामा गरिएको थियो । आफ्नै गाउँको कथा र दृष्य समेटिएकाले यहाँका माझिहरुले यस टेलिचलचित्रलाई एक पटक मात्र भएपनि हेर्न चाहेका थिए तर अहिले सम्म उनीहरुको इच्छा पुरा हुन सकेको छैन ।
नेपाल टेलिभिजनबाट सो टेलिचलचित्र प्रशारण भईरहेको समयमा गाउँमा विजुलीको सुविधा थिएन । जसका कारण त्यहाँ टेलिभिजन भएका घरहरु नगन्य मात्रामा थिए । कसै–कसैले सोलारबाट चलाउने उद्धेश्यले टेलिभिजन राखेका भएपनि आर्थिक विपन्नताका कारण माझि समुदायहरुका लागि यो सम्भव थिएन । पछि पटक–पटक टेलिभिजनले यसलाई प्रशारण गरेपनि यहाँका माझिहरु यसलाई हेर्न बाट वञ्चित नै छन्, अहिले सम्म पनि । गएको केहि वर्ष देखि गाउँमा विजुलीको सुविधा पुगेको छ । गाउँका केहि व्यक्तिले आफ्नै घरमा टेलिभिजन पनि राखेका छन् । तर आफ्नै गाउँको कथा भएको सो टेलिचलचित्र हेर्न उनीहरु सँग कुनै उपाय छैन । स्थानियवासी मैते माझि भन्छन्–“ नौला–नौला मान्छे आए । ठूल्ठूला क्यामेरा देखाए, फोटो खिचे । टि.भि मा आउँछ त भन्थे तर खोई किन हो आउँदा पनि आएन , हेर्न नि पाईएन । “एक पटक जसरी भएपनि टि.भि को पर्दामा आफ्नो गाउँ हेर्न पाउँ ।” उनको आग्रह छ ।
परापूर्वकाल देखि नै सामाजीक, आर्थिक, राजनितिक तथा शैक्षिक क्षेत्रमा पनि पछि परेका यहाँका माझिहरुलाई त्यतिखेर धेरै समस्याहरु थियो । बिहान–बेलुकाको छाक टार्न पनि ज्यादै धौ–धौ पर्ने अवस्था थियो । यति मात्र होईन, सामान्य घर खर्च चलाउन समेत सम्पूर्ण घर जग्गा साहुकोमा धितो राखेर ऋण लिनु पर्ने अवस्था थियो । ०४० साल सम्म नै यस्तो अवस्थामा रहेका माझिहरुको वास्तविकतालाई कथाकार विकलले अत्यन्तै रोचक पारामा आफ्नो उपन्यासमा उतारेका थिए । यहि उपन्यासलाई द्धारीका फिल्मस्ले टेलिफिल्मको रुपमा सबै सामु छर्लङ्ग पारीदियो । पछि यसलाई ठुलो पर्दाको फिल्म नै बनाइयो । यसमा राष्ट्रियरुपमा ख्याती प्राप्त कलाकारहरु रवि गिरी, उपेन्द्र तिमल्सिना, रजनी राना, लोकमणि सापकोटा, बद्रि अधिकारी, गणेश मुनाल लगायत स्थानिय कलाकारहरुले पनि विभिन्न भुमिकामा अभिनय गरेका थिए ।
शुरुमा ४३ भाग सम्मको सानो पर्दाका रुपमा निर्माण गरिएको भएपनि यसलाई पछि ठूलो पर्दाको रुपमा पनि निर्माण गरिएको थियो । यसमा देखाईएका पात्रहरु सोभिते, लालगेडी, भुमा, काजी , खिनौरी आदी यस गाउँका प्रतिनिधी पात्र भएको र पुरै वास्तविकता जस्तै गरि प्रस्तुत गरिएकाले सबैका लागि त्यतिखेर अविरल बग्दछ इन्द्रावती चर्चित बनेको थियो । ‘ त्यसैले त हामीले यसलाई अहिले पनि हेर्न खोजिरहेका छौं ।’ स्थानिय युवा राजु माझि भन्छन् –“निर्माण पक्षले कुनै विकल्प अपनाएर भएपनि हाम्रो मागलाई सुनिदिनु पर्छ ।” पुनः टेलिभिजनबाट यसलाई प्रशारण गर्न सम्भव नभए , डिभिडि तथा सिडिमा कपि गरेरै भएपनि अविरल बग्दछ इन्द्रावती आफूहरुलाई उपलब्ध गराउनु पर्ने उनको भनाई छ ।
यस सम्बन्धमा सो टेलिचलचित्रका निर्देशक बद्रि अधिकारीले यो अहिले नेपाल टेलिभिजनको सम्पती भईसकेकाले तत्कालै सिडि अथवा डिभिडिमा कपि गरेर उपलब्ध गराउन नसकिने बरु समय अनुकुल बनाएर केहि महिना पछि पुनः प्रशारणका लागि टेलिभिजनलाई अनुरोध गरेरै भएपनि उनीहरुको मागलाई सकेसम्म पुरा गराउन आफू लागि पर्ने बताएका छन् । उनी भन्छन्–“ यसले त्यहाँका माझिहरु स्थानिय साहु र काजीहरुबाट कसरी हेपिएका थिए भन्ने यथार्थलाई उजागर गरेको भएपनि उनीहरुलाई देखाउन नसक्दा अत्यन्तै दुःख लागेको छ । म यस कुरालाई ध्यान दिएर त्यहाँका ५ सय भन्दा वढि माझिहरुको आवाजलाई एकपटक टेलिभिजन समक्ष पु¥याउन प्रयास गर्नेछु ।”
प्रतिक्रिया